• Wednesday 7th of October 2026

सुन तस्करी: राहुल महरासहित चार जनाविरूद्ध मुद्दा दायर


  • धनकुटा खबर
  • .

काठमाडौ । इलेक्ट्रिक चुरोट (भेप) भित्र ९ किलो सुन तस्करी गरी ल्याएको आरोपमा पक्राउ परेका राहुल महरासहित चार जनाविरूद्ध मुद्दा दायर भएको छ।

सरकारी वकिल कार्यालय काठमाडौंले चार जनालाई प्रतिवादी बनाएर बुधबार मुद्दा दर्ता गरेको हो।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल, सर्लाही घर भई काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ४ सितापाइला बस्ने ३९ वर्षीय लोकेन्द्रकुमार पौडेल, बेल्जियमका नागरिक ३९ वर्षीय दावा छिरिङ र काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धका ५७ वर्षीय निमा गुरूङविरूद्ध मुद्दा दायर भएको हो। निमा भने फरार छन्।

लोकेन्‍द्रकुमार सुन तस्करी प्रकरणमा प्रमुख व्यक्ति दाओजिन वाङका सवारी चालक हुन्।

उनीहरूविरूद्ध तीन वटा कसुरमा मुद्दा दायर भएको हो।
आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर भएको हो।

गत पुस १० गते फ्लाइ दुबईबाट आएका चिनियाँ नागरिक ली हाङसनले ल्याएको ७३ वटा बट्टामा रहेको ७३० वटा भेपभित्र ९ किलो सुन थियो।
८ करोड ५५ लाख २८ हजार तीन सय ७४ रुपैयाँ बराबरको सुन भन्सार कार्यालयबाट चोरी भएपछि यो घटना बाहिरिएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरी पाँच जनाविरूद्ध मुद्दा चलाएको थियो।

सुन बरामद गरेपछि राहुल महरा, कृष्णबहादुर महरा लगायतले सामान छुटाउन दबाब दिएका थिए। उनीहरूको पनि कनेक्सन देखिएपछि सिआइबीले अनुसन्धान गरेको हो।

सिआइबीले राहुल महरालाई पक्राउ गरेपनि पूर्व सभामुख कृष्णबहादुर महरासँग भने कागज मात्रै गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖