• Wednesday 7th of October 2026

इजरायलबाट ‘कर्मसियल फ्लाइट’मा आउनेको पनि सरकारले खर्च व्यहोर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले इजरायलबाट ‘कर्मसियल फ्लाइट’मा नेपाल फर्कन चाहने नेपालीलाई टिकट खरिदमा सहजीकरण गर्ने भएको छ ।
परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखाका प्रमुख तथा सहसचिव शरदराज आरनले उक्त जानकारी दिएका हुन् ।

“इजरायलबाट कर्मसियल फ्लाइटमा कोही नेपाली अहिले फर्कन चाहन्छ भने इजरायलस्थित नेपाली दूतावासलले हवाई टिकटको लागि सहजीकरण गर्नेछ । टिकटको खर्च सरकारले व्यहोर्नेछ,” सहसचिव आरनले भने ।

इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकारले आज २५० सीट क्षमताको नेपाल एयरलाइन्सको जहाज दुबई हुँदै इजरायल पठाउँदै छ ।
हाल इजरायलमा रहेका २८८ नेपालीले स्वदेश फर्कन चाहेका छन् । उनीहरूमध्ये २५० जनालाई आज राति पठाइने जहाजले नेपाल ल्याउने छ ।
फ्लाई दुबई, इत्तेहाद, टर्किस एयरलाइन्सले इजरायलमा कर्मसियल उडान गरिरहेका जनाउँदै स्वदेश फर्कन चाहने नेपालीहरू त्यस्ता उडानमा आउन सक्ने जनाइएको छ ।

इजरायलमा रहेका नेपालीले आफू नेपाल फर्कन चाहेको जानकारी त्यहाँ रहेको नेपाली दूतावासलाई गराएपछि कर्मसियल फ्लाईटको लागि सहजीकरण प्रक्रिया दूतावासले अघि बढाउने छ ।

शनिबार प्यालेस्टिन चरमपन्थी समूह हमासले दक्षिण इजरायलमा आक्रमण गरेपछि त्यहाँ एक हजारभन्दा बढी मारिएका छन् । मारिनेमा १० जना नेपाली विद्यार्थी पनि छन् । घाइते भई उपचाररत चार नेपाली विद्यार्थीमध्ये दुईजना आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।

इजरायलमा रहेका विद्यार्थीले सरकारले आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन ढिलाइ गरेको भन्दै आक्रोशित भएपछि सरकारले उनीहरूलाई लिन आज राति जहाज पठाउन लागेको हो ।

चाटर्ड फ्लाइट एउटा मात्र गर्ने भएकोले बाँकी रहेकालाई कमर्सियल फ्लाइटमा ल्याउने निर्णय सरकारले गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖