• Wednesday 7th of October 2026

विकास चाहिए एमालेलाई भोट हाल्नुस् : ओली


  • धनकुटा खबर
  • .

जनकपुरधाम – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को चुनावमा मधेसबाटै एमालेले बहुमत पाउने दाबी गरेका छन्।

बुधबार जनकपुरधाममा एमाले मधेस प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै ओलीले कांग्रेस, माओवादी एमालेबाट त्रसित रहेको आरोप लगाए । एमाले लोकप्रिय पार्टी रहेको उनको भनाइ थियो ।

उनले मुलुकमा जतिखेर पनि एमालेको सरकार बन्न सक्ने टिप्पणी गर्दै मधेसमा विकास चाहिए एमालेलाई भोट दिनुपर्ने बताए ।

एमालेलाई भोट नदिए कुनै पनि हालतमा मधेसमा विकास नहुने दाबी गर्दै ओलीले २०७४ सालमा आफूहरुलाई निषेध गरेको नबिर्सिएको जनाए । आफ्नो पार्टी मधेसमा पहिलो पार्टी बने पनि विभिन्न हावाहुरी चलाउनेको नेतृत्व मधेसमा रहेकाले विकास हुन नसकेको भन्दै उनले अब एमालेले नेतृत्व पाउनुपर्ने तर्क गरे ।

एमाले सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेसवादी दलहरुको सत्ता लोभले मधेसको विकास नभएको दाबी गरे । उनले एमाले सदैव मधेसीको हक अधिकारको पक्षमा रहेको र एमालेले नै मधेसी जनताको अधिकार दिलाएको जिकिर गरे । महासचिव शंकर पोखरेलले मधेस प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए ।

उनले सातै प्रदेशमध्ये मधेश प्रदेश सरकार सर्वाधिक असक्षम रहेको दाबी गरे । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको जन्मभूमि, कर्मभूमि र भविष्य पनि मधेस नै रहेकाले क्षेत्रीय दलहरुको भुलभुलैयामा मधेसी जनता नफस्ने दाबी गरे । पार्टी सचिव तथा कोसी प्रदेश इन्चार्ज रघुवीर महासेठले केपी ओलीकै कारण मधेसमा आज सडक, रेल सम्भव भएको बताए ।

उनले मधेसी जनताले एमालेलाई भोट हाले आगामी दिनमा सिँचाइको व्यवस्था पनि आफूहरूले गर्ने उनले बताए । पोलिटब्यूरो सदस्यहरु लीलानाथ श्रेष्ठ, जुली महतो लगायतले मधेसी जनताले मधेसी दलबाट के पाए भन्ने प्रश्न गरे ।

एमाले बिना मधेसको विकास असम्भव भएको उनीहरूको जिकिर थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖