• Wednesday 7th of October 2026

कोशीमा राजनीतिक संकटको कारक कांग्रेस : मुख्यमन्त्री कार्की


  • धनकुटा खबर
  • .

२५ असोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा मिलिजुली सरकार बनाउने जनादेश भए पनि नेपाली कांग्रेसले नचाहेका कारण संकट आइपरेको बताएका छन् ।

बिहीबार जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले कांग्रेसका कारण प्रदेशमा सरकार बन्न नसक्ने अवस्था आएको बताएका हुन् ।

‘प्रदेशमा मिलिजुली अघि बढ्ने जनमत प्राप्त भयो, सोही अनुसार भरमग्दुर प्रयास गरिरहेका छौं, तर एउटा कोशिसले मात्र काम गर्दैन रहेछ’, उनले भने, ‘मुलुकको जिम्मेवार पार्टी नेपाली कांग्रेसले संकट समाधान गर्न चाहेन ।’

राजनीतिक स्थायित्वका लागि एमाले र काङ्ग्रेस मिल्नुको विकल्प नरहने बताउँदै उनले कांग्रेसलाई मिल्नका लागि आग्रह गरे । काङ्ग्रेस मिल्न तयार नभए माओवादी केन्द्रसँग पनि मिलेर जान एमाले तयार रहेको कार्कीले बताए ।मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने अन्तिम दिन राजीनामा दिएपछि कोशीमा पुन अर्को सरकार गठनका लागि आह्वान भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि दिएको समय शुक्रबार सकिदैछ । सत्तारुढ गठबन्धनले शुक्रबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेको छ ।

मुख्यमन्त्री कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्दा प्रदेशसभा सदस्यहरुको कीर्ते हस्ताक्षर हुन सक्ने सम्भावना रहेको जिकिर गरे । ‘यस्ता फन्टुसहरुका पनि दिन आउने भए, भोलि नक्कली हस्ताक्षर गरेर ल्याए ४७ भन्दा पनि हुने हो कि भन्ने खालको अवस्था छ’, उनले भने, ‘कुनै प्रयोजनका लागि गरेको हस्ताक्षर लिएर जाने कता कता देखिरहेको छु ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖