काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले विश्वकप छनोटमा लावोसविरुद्धको दोस्रो लेगमा आक्रमक फुटबल खेल्ने बताएका छन् ।
मंगलबार लाओसविरुद्ध दोस्रो लेगमा उत्रन लागेको नेपाली टिमका प्रशिक्षक एनिसले खेलका लागि आफुहरु तयारी अवस्थामा रहेको बताए ।
‘हामीले राम्रो तयारी गरेका छौं । यो खेल नेपाल र मेरा लागि उत्तिकै महत्वपुर्ण छ । यो कठिन हुनेछ । तर यसका लागि हामी तयार छौं ।’ एनिसले थपे, ‘हामी आक्रमक फुटबल खेल्नेछौं । लाओसले काउन्टर आक्रमणको फुटबल खेल्नेछ । हामी उसलाई सम्मान गर्छौ । तर हामीले सकारात्मक सोच राख्न जरुरी छ ।’
उनले पहिलो खेलमा लाओसले धेरै समय खेर फालेर खेलेको उल्लेख गर्दै रेफ्रीका निर्णय समेत आफ्नो पक्षमा नभएको बताए ।
नेपालले विश्वकप फुटबलको एसियाली छनोटको पहिलो चरणमा लाओसविरुद्ध मंगलबार दोस्रो लेगको म्याच खेल्दैछ । दशरथ रंगशालामा पहिलो लेगको खेल बराबरीमा सकिएको थियो । नेपाल दोस्रो लेगको म्याच खेल्न लाओसमा रहेको छ ।
नेपाली टिमका कप्तान किरण कुमार लिम्बुले लाओसविरुद्धको खेल महत्वपुर्ण रहेको उल्लेख गर्दै आफुहरुले सुन्दर खेल खेल्न चाहेको बताए ।
‘पछिल्लो खेल साच्चिकै दुखद थियो । हामीले राम्रो तारी गरेका छौं । जितेर अघि बढ्ने लक्ष्य राखेका छौं ।’ किरणले भने, ‘पहिलो खेलको पहिलो हाफमा हामीले धेरै गल्तीहरु गर्यौ । टिमका खेलाडीहरु मंगलबारको खेलका लागि उत्साहीत छन् । दशैंको अवसरमा समर्थकहरुलाई हामी राम्रो नतिजा दिन चाहन्छौं ।’
लाओसका प्रशिक्षक कन्लाया सिसोमवाङले नेपालसँगको खेल निकै प्रतिस्पर्धात्मक हुने उल्लेख गरे ।
‘हामीले अघिल्लो खेलबाट धेरै सिकेका छौं । हामीले विश्लेषण गरेका छौं । हामी अझ राम्रो खेल्न प्रयास गर्नेछौं ।’ उनले भने ।
