• Thursday 8th of October 2026

कोशीमा फेरि अर्को चलखेल भयो, एमालेका मन्त्री छिराइहालेछन्: प्रधानमन्त्री दाहाल


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा एउटा चलखेल रोके पनि अर्को चलखेल भएको बताएका छन्।

आफू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र शेखर कोइराला बसेर गठबन्धनप्रति दृढ रहेको सहमति गरे पनि कोशी मन्त्रिपरिषद विस्तारमा नेकपा एमालेलाई पनि मन्त्री बनाएर चलखेल भएको दाहालले बताए।

‘एमालेले गरेको चलखेल रोकियो भन्ने ठानेको त हिजो फेरि अर्को चलखेल भयो। हामीले मुख्यमन्त्रीलाई विश्वासको मत लिनुअघि कांग्रेसको एक मात्रै मन्त्री बनाउने भनेको त फेरि एमालेको मन्त्री त्यहाँ छिराइहालेछन्,’ सुदूरपश्चिम प्रदेशमा सोमबार समाजवादी मोर्चाले गरेको कार्यक्रममा दाहालले भने, ‘आज फेरि त्यसलाई हामी करेक्सन गर्दैछौं, करेक्सन त हुन्छ। जित्नलाई यही गठबन्धनले जित्छ।’

आफूहरू रहेको गठबन्धनलाई भत्काउन पटक-पटक चलखेल भए पनि परास्त गरिएको उनले दाबी गरेका थिए। ‘पाँच वर्ष यही गठबन्धन जान्छ, कसैले हेलाउन सक्दैन। चलखेल गर्नेहरू सफल हुँदैनन्,’ उनले भने।

उनले कांग्रेस र एमालेभित्रको गतिविधिबारे पनि कुरा गरेका थिए।

‘पहिलोचोटि एमालेभित्र ठूला चिरा परेको देखिएको छ। हामीले राम्रो बुद्धि पुर्‍याउने हो भने त्यसलाई सदुपयोग गर्ने सम्भावना बढेको छ,’ उनले भने, ‘कांग्रेस त पार्टी हो कि मञ्च हो कि मोर्चा हो बुझिसाध्य छैन। अस्तो कोशीमा देखिइहाल्नुभयो। कोशीमा दुई गठबन्धन बने। हाम्रो एउटा, एमाले र असन्तुष्ट कांग्रेसको अर्को, लाजमर्दो। यसलाई के गरी हल गर्ने भनेर म, देउवा र शेखर बसेर गठबन्धनमा दृढ छौं, कमजोर पार्न दिने छैनौं भनेर हस्ताक्षर गरियो। यति गरेपछि एमालेले गरेको चलखेल त्यहीँ रोकियो भनेको त हिजो फेरि अर्को चलखेल भयो।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖