• Thursday 8th of October 2026

सेन्सरको कैँची असाध्यै कडा भयो : दीपकराज गिरी


  • धनकुटा खबर
  • .

काठमाडौँ : कलाकार तथा चलचित्र निर्माता दीपकराज गिरीले चलचित्र सेन्सर बोर्डले अनावश्यक दुःख दिने गरेको गुनासो गरेका छन्। ‘कान्तिपुर सिनेमाज’ नामक ओटीटी प्लेटफर्म शुभारम्भ कार्यक्रममा पुगेका गिरीले सेन्सर बोर्डले फिल्मीकर्मीहरूको सिर्जनामा निर्मम तरिकाले कैँची चलाउने गरेको आरोप लगाएका हुन्।

उनले भने, ‘सेन्सर भनेको फिल्मकर्मीलाई मात्र जस्तो लाग्छ। सेन्सरको कैँची असाध्यै कडा भयो। सामाजिक सञ्जालमा कुनै सेन्सर छैन, नेताको बोलीमा सेन्सर छैन। तर, फिल्मका स-साना संवादमा पनि कैँची चल्छ।’

दीपकले सेन्सरको भोगाइ सम्झँदै भने,‘मेरो एउटा फिल्ममा प्रहरीलाई ढुंगा हान्नुपर्ने दृश्य थियो। सेन्सर बोर्डमा यो दृश्य काट्न भनियो। फिल्म भनेको नैतिक शिक्षा होइन। फिल्मको सुरुवातमा कुनै पनि पात्रलाई खराब देखाइन्छ। पछि, गएर ऊ सुध्रिएको पनि हुन सक्छ।’

दीपकले उदाहरण दिँदै थपे, ‘फिल्ममा खराब पात्रले धुमपान गर्छ। तर, कतिपटक यो कुरा फिल्ममा लेख्नु? अब बलात्कारको दृश्यमा ‘बलात्कार गर्नु अपराध हो’ लेख्नुपर्‍यो। दाजुले भाइलाई कुटेको दृश्यमा ‘दाइले भाइलाई कुट्न मिल्दैन’ लेख्नुपर्‍यो।’

सेन्सर बोर्डमा बस्ने मानिसहरू निकै असंवेदनशील भएको उनको आरोप छ। उनले भने, ‘म फिल्म बनाउँदा जहिले पनि यो दृश्य काटिन्छ कि भनेर सशंकित हुने गर्दछु। डराईडराई कसरी सिर्जना गर्न सकिन्छ?’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖