काठमाडौ । नेपालले मलेसियामा जारी एसिसी यू१९ प्रिमियर कपमा साउदी अरेवियालाई हराए सेमिफाइनलमा पुग्ने भएको छ । समूह ए को अन्तिम खेल नेपाल र साउदी अरेवियाबीचको बिहीबार बिहान ७ : १७ मा सुरुहुनेछ ।
समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । साउदी अरेविया २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट ५.४२९ र साउदीको २.०३० छ । समूह ए बाट बहराइन २ अंक र इरान अंक विहीन हुँदै बाहिरिएका छन् । बिहीबार नेपाल र साउदीबीचको विजेता टोली शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुग्नेछ ।
नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो । साउदीले बहराइनलाई ६७ रन र इरानलाई ४ विकेटले हराएको थियो ।
इरानविरुद्ध नेपालका कप्तान देव खनालले १ सय रनको शतकीय इनिङ खेलेका थिए । देवले सिनियर टोलीबाट १० ओडिआई खेल खेली सकेका छन् । स्पिनर दीपेश कँडेलले पनि सानदार बलिङ गर्दै आएका छन् ।
समूह बी मा युएई २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमाछ । कतार २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । चीन ३ खेलमा जित विहीन हुँदै बाहिरिएको छ ।
समूह सी मा सिंगापुर २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । कुवेत ३ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा रहँदै बाहिरिएको छ । थाईल्यान्ड २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । माल्दिभ्स ३ खेलमा १ अंकका साथ पुछारमा रहेर बाहिरिएको छ ।
समूह डी मा जापान २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । हङकङ २ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । मलेसिया २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । इन्डोनएसिया २ खेलमा अंक विहीन हुँदै बाहिरिएकोछ ।
प्रतियोगितामा हरेक समूहमा चार गरि चार समूह छन् । हरेक समूहका शीर्ष टोली सेमिफाइनल पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरि तीन टोली एसिया कप खेल्नेछन् ।
सेमिफाइनल कार्तिक ५ गते (अक्टोबर २२) मा हुनेछ । पहिलो सेमिफाइनलमा समूह ए र डी का शीर्ष टोलीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल समूह बी र सी का शीर्ष टोलीबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल र तेस्रो स्थानको लागि कार्तिक ७ (अक्टोबर २४) मा प्रतिस्पर्धा हुनेछ ।
