एजेन्सी – पाकिस्तानले आइसिसी विश्वकप २०२३ मा अष्ट्रेलियाले प्रस्तुत गरेको विशाल लक्ष्य पछ्याउनेक्रममा सानदार सुरुवात गरेको छ । जितको लागि ३ सय ६८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २१.१ ओभरमा १ विकेट गुमाउँदै १ सय ३४ रन बनाएकोछ ।
पाकिस्तानका ओपनर इमाम उल हक ६६ बलमा ९ चौकासहित ६३ रनमा क्रिजमा छन् । अब्दूल्लाह शफिक ६० बलमा ७ चौका र २ छक्कासहित ६४ रनमा आउट भए । पहिलो विकेटका लागि अब्दूल्लाह र इमामले २१.१ ओभरमा १ सय ३४ रनको शतकीय साझेदारी गरे ।
अब्दूल्लाह मार्कस स्टोइनिसको २२ औं ओभरको पहिलो बलमा ग्लेन म्याक्सवेलबाट क्याच आउट भए । बाबर आजम ४ बलमा २ चौकासहित ८ रनमा क्रिजमा छन् ।
इमामले ब्यक्तिगत ४८ रनमा जीवनदान पाएका थिए । ग्लेन म्याक्सवेलको १८ औं ओभरको दोस्रो बलमा मिडविकेटमा प्याट कमिन्सले क्याच छाड्न पुगेका थिए ।
अब्दूल्लाह शफिकले ब्यक्तिगत २७ रनमा जीवनदान पाएका थिए । प्याट कमिन्सलाई १२ औं ओभरको पाँचौं बलमा पुल सट खेल्दा मिडविकेटमा शन एबोटले क्याच छाडेका थिए ।
त्यसअघि बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ६७ रन बनायो ।
डेविड वार्नरले १ सय २४ बलमा १४ चौका र ९ छक्कासहित सर्वाधिक १ सय ६३ रनको सानदार शतकीय इनिङ खेलेका थिए । अष्ट्रेलियालाई ओपनर मिचेल मार्श र डेविड वार्नरले पहिलो विकेटका लागि ३३.५ ओभरमा २ सय ५९ रनको सानदार दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार बनाएका थिए ।
मार्श १ सय ८ बलमा १० चौका र ९ छक्कासहित १ सय २१ रनमा आउट भएका थिए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले १० ओभरमा ५४ रन खर्चेर सर्वाधिक ५ विकेट लिए ।
