काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)मा पराजित भएको टीमप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निगाह देखिएको छ । पराजित समूहले गठन गरेको अवैध कार्यसमितिलाई भेटेर प्रधानमन्त्रीले बधाई दिएका छन् ।
एनआरएनए ११ औं महाधिवेशनमा भएको चुनावमा एमाले निकट डा. बद्री केसी विजयी भएका थिए । माओवादीनिकट आरके शर्मा प्रमुख प्रतिस्पर्धी हुँदा कांग्रेसनिकट डा. महेश श्रेष्ठ तेस्रो भए । पराजयपछि शर्मा र श्रेष्ठले गठजोड गरेका छन् । उनीहरुले चुनावको मतपरिणाम नमान्ने घोषणा गर्दै समानान्तर कार्यसमिति बनाएका छन् ।
सरकारले अहिलेसम्म चुनाव जितेर बनेको कार्यसमितिलाई मान्यता दिएको छैन । केसीको टीमले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्न प्रयास गर्दा उनीहरु अनिच्छुक देखिएका छन् । परराष्ट्रमन्त्रीले भने केही दिनमा भेट्ने सन्देश पठाएको स्रोतको दावी छ ।
यद्यपि, पराजित समूहको कार्यसमितिलाई भने अस्तिकै दिन परराष्ट्रमन्त्री एनपी साउद र अर्थमन्त्री डा. प्रकाशशरण महतले भेट दिए । त्यसपछि हिजो प्रधानमन्त्रीले समेत उनीहरुलाई भेटेका हुन् ।
प्रधानमन्त्रीलाई भेट्न शर्माको टिम खादा–माला नलगाइकन गएको थियो । भेटपछि जारी विज्ञप्तिमा प्रधानमन्त्रीले आफूहरुलाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको उल्लेख छ ।
‘एनआरएन अभियान एकतावद्ध भएर अगाडि बढ्छ भन्नेमा म विश्वस्त छु,’ प्रधानमन्त्रीको भनाइ उद्वृत गर्दै विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्रीसँगको भेटमा एनआरएनए अध्यक्ष शर्मासहित पूर्वअध्यक्ष कुल आचार्य पनि थिए ।
