• Thursday 8th of October 2026

एमाले नेता सूर्य थापाले दिए पूर्व युवराज पारशलाई गँजेडीको संज्ञा


  • धनकुटा खबर
  • .

काठमाडौं, १० कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका छन् । उनले भने,‘ज्ञानेन्द्र तिनै व्यक्ति हुन्, जो ०५८ साल जेठ १९ गतेको नारायणहिटी संहारपछि जब चाहीँ स्वचालित हतियार पड्किएर गद्दीनसिन राजा वीरेन्द्रको हत्या भयो रे, ज्यान गुम्यो रे, उत्तराधिकारी दीपेन्द्रको पनि ज्यान गुम्यो, अनि राज्यसहायक भनेर घोषणा गरिए अनि राजा भए । गरेको हो के हो ? थाहा छ ? तपाईँले बिर्सिनुभयो इतिहासका तथ्य ? पाँच करोडको राजदरबारको सेवासुविधालाई ६८ करोड पुर्याउने मान्छे ज्ञानेन्द्र होईनन् ? अनि ज्ञानेन्द्रको परिवार, उनका छोरा पारशले चलाएको गाडीले किचेर गायक प्रविण गुरुङको ज्यान गएको होईन ? लाखौं नेपालीले हस्ताक्षर संकलन गरेर राजदरबारमा वीरेन्द्रलाई बुझाएको होईन ? अनि के सुनामको कुरा गर्नुहुन्छ ?’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । पत्रकार धमलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाले फेरि राजा बनाउने भनेको छ नि ? भनेर सोधेको प्रश्नमा थापाले भने–‘राप्रपा एउटा एज ए पार्टी, प्रतिगामी विचाराधाराको पार्टी, पार्लियामेन्टमा १३ सिट छ, पार्टीको रुपमा छ । पार्लियामेन्टमा पनि उहाँहरु बोल्नुहुनछ, उहाँहरुको बोल्ने अधिकारको विषयमा म केही भन्दिनँ । तर, प्रतिवाद गर्ने जनताको अधिकार छ । कुन सुनामको कुरा गर्दै हुनुहुन्छ उहाँहरुले ? कुन सुशासन र न्यायको कुरा गर्नुहुन्छ ? हिजो बोलेबापत रामनाथ दाहालसहित सुखानीका राजबन्दीहरुलाई झापा आन्दोलनका राजबन्दीहरुलाई जेल सार्ने नाममा हत्या गर्ने को थियो ? त्यही राजतन्त्र थिएन ? हिजो क्याप्टेन यज्ञबहादुर थापा र नारायण श्रेष्ठहरुलाई मृत्युदण्ड दिने को थियो ? त्यही राजतन्त्र थिएन ? आफ्नो सुविधाको निम्ति, ५ करोडको सेवासुविधा वीरेन्द्रले खाइपाई गरेको पाँच करोडको सेवासुविधालाई ६८ करोड पुर्याउने ज्ञानेन्द्र थिएनन ? दसैंको टिकाको दिन जनतालाई चाडवाडको माहोलमा भएको उल्लासको मौका छोपेर प्रविण गुरुङको हत्याको अभियोग लागेका गँजेडी छोरालाई राजगद्दीको उत्तराधिकारी घोषणा गर्ने ज्ञानेन्द्र थिएनन ? अहिले जनताको आकांक्षाको यी सबै कुरा ज्ञानेन्द्रले गर्न सुहाउँछ ?’

सांसद थापाले शीतलनिवास र निर्मलनिवासको कुनै तुलना हुन नसक्ने बताए । यद्धपी उनले राष्ट्रपति रामचन्द्र पौडेलका तरिका र निर्णयसँग भने आफू सहमत नभएको सुनाए । उनले राजावादीहरुलाई प्रतिगामी स्यालहरुको संज्ञा दिए । उनले भने,‘प्रतिगामी स्यालहरुले गणतन्त्रलाई अनावश्यक ढंगले लाञ्छित गर्न मिल्छ ? तिनको कृपाले प्राप्त गरेको हो र गणतन्त्र ? केही स्याल कराउँदैमा, नेपालमा चाहीँ गणतन्त्र संकटमा पर्छ र ?’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖