• Tuesday 6th of October 2026

एकदिवसीय विश्वकपः पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका शीर्ष स्थानमा


  • धनकुटा खबर
  • .

एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

शुक्रबार बेलुका पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

एमए चिदम्बरम् स्टेडियममा पाकिस्तानले दिएको २७१ रनको लक्ष्य दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा १६ बल बाँकी रहँदै पूरा गरेको थियो।
दक्षिण अफ्रिकाको जितमा एडेन मारक्रमले ९३ बलमा ७ चौका र ३ छक्का प्रहार गरी ९१ रन बनाए।

‍डेभिड मिलरले ३३ बलमा २ चौका र २ छक्का प्रहार गरी २९ रन बनाए। कप्तान टेम्बा बभुमाले २७ बलमा ४ चौका र १ छक्का प्रहार गरी २८ रन जोडे।

त्यस्तै क्वीन्टन डि नकले २४, रासी भ्यान डेर दुसेनले २१, म्याक्रो जनसेनले २०, हेनरिच क्लासेनले १२ र जेलाल्ड क्वेत्जीले १० रनको योगदान गरे।

बलिङमा पाकिस्तानका शाहिन अफ्रिदीले ३ विकेट लिए। हरिश रौफ, मोहम्मद वासिम र उसामा मिरले २/२ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४६.४ ओभर खेलेर २७० रन बनाएको थियो।

कप्तान बाबर आजम र साउद शकिलले अर्धशतक बनाए पनि पाकिस्तानले हार टार्न सकेन। बाबर आजमले ६५ बलमा ४ चौका र १ छक्का प्रहार गरी ५० रन बनाउँदा साउद शकिलले ५२ बलमा ७ चौका प्रहार गरी ५२ रन बनाएका थिए।

त्यस्तै शादब खानले ३६ बलमा ३ चौका र २ छक्का ४३ रन जोडे। मोहम्मद रिजवाले ३१, मोहम्मद नवाजले २४, इफ्तिखर अहमदले २१, इमाम उल हकले १२ र अब्दुल्लाह शफिकले ९ रनको योगदान गरे।
बलिङमा दक्षिण अफ्रिकाका तबरेज शम्सीले ४ र म्याक्रो जनसेनले ३ विकेट लिए। जेराल्ड कोइत्जीले २ र लुंगी एनगिडीले १ विकेट लिए।
जितसँगै दक्षिण अफ्रिका ६ खेलमा ५ जित निकाल्दै १० अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ। दोस्रो स्थानमा रहेको भारतको पनि १० अंक छ। अहिलेसम्म ५ खेल खेलेको भारत अपराजित छ।
तेस्रो स्थानमा न्युजिल्याण्ड छ। न्युजिल्याण्डले ५ खेलमा ४ जित निकाल्दै ८ अंक बनाएको छ।

चौथो स्थानमा अष्ट्रेलिया, पाचौंमा श्रीलंका, छैठौंमा पाकिस्तान, सातौंमा अफगानिस्तान, आठौंमा बंगलादेश, नवौंमा इंग्ल्याण्ड र दसौं स्थानमा नेदरल्याण्ड्स छ।

आज अष्ट्रेलिया र न्युजिल्याण्ड तथा नेदरल्याण्ड्स र बंगलादेश खेल्दैछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖