• Thursday 8th of October 2026

सामूहिक हत्या प्रकरणमा प्रहरी हत्याराको नजिक पुगेको दाबी


  • धनकुटा खबर
  • .

मुगु । मुगु जिल्लाको मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरी अनुसन्धान हत्यारा नजिक पुगेको दावी गरिएको छ । कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी अहिले घटना घटेको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँ वरपर अनुसन्धानमा तल्लीन छन् ।

प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार अहिले प्रहरीले महत्त्वपूर्ण प्रमाण फेला पारिसकेको भए पनि अझै अनुसन्धान भने जारी राखेको हो । ‘हामीले महत्त्वपूर्ण प्रमाण भेटाएका छौं । हामी अहिले शङ्का लागेकालाई सोधपुछ गर्ने देखि नियन्त्रणमा लैजाने सम्मका काममा लागेका छौं ।’ उनले भने . ।

अनुसन्धानको नजरमा परेकाहरूको घटनासँग संलग्न रहेको सत्य,तथ्य र प्रमाणित प्रमाण जुटेपछि नियन्त्रणमा लिइने उनले बताए । प्रनाउ थापाका अनुसार हत्या गरिएका चारै जनाको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ सम्भवतः आइतबारै चारै शवको पोष्टमाटम हुनेछ ।

शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहराको शव घरभित्रै फेला परेको थियो । उनीहरूको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको थियो ।

मृतक आमा श्रीदेवी छोराछोरीसहित ७ गते नै दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टिका, जमरा लगाइसकेपछि उनी ८ गते बेलुका नै घर फर्किएकी थिइन् । सोही राति सामूहिक हत्या गरिएको हुन सक्ने प्रहरीले बताइएको छ ।

मृतकका श्रीमान् दीपक बोहोरा वैदेशिक रोजगारीमा कतार रहे पनि घरमा श्रीमती सहित छोरा छोरीको हत्या भएको खबर पाएपछि शुक्रबार राती काठमाडौँ विमान स्थल ओर्लेर शनिबार मुगु पुगेका थिए ।हत्याको अनुसन्धान गर्न नेपाल प्रहरीको विशेष अनुसन्धान टोली परिचालित छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖