• Tuesday 6th of October 2026

टी-२० विश्वकप छनोटः उच्च लयमा रहेको नेपालको यस्ता छन् प्रतिद्धन्द्धी टिम र खेल तालिका


  • धनकुटा खबर
  • .

काठमाडौं,१२ कार्तिक । सन् २०२४ मा वेष्ट इण्डिज र अमेरिकाले संयुक्तरुपमा आयोजना गर्ने टी-२० विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोट खेल सोमबारबाट सुरु हुँदैछ ।

कार्तिक १३ गतेदेखि १९ गतेसम्म नेपालमा हुने छनोट खेलमा एसिया क्षेत्रका ८ टिमले सहभागीता जनाउँदैछन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ । छनोटमा सहभागी ८ टिममध्ये फाइनलमा पुग्ने शीर्ष २ टोली अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।

दुई समूहमा विभाजन गरिएको खेलमा नेपाल समूह ए मा परेको छ । जसमा नेपालसहित सिंगापुर, ओमान, मलेसिया रहेका छन् । समूह ए का सबै खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ भने समूह बी मा यूएईसहित हङकङ,बहराइन र कुवेत रहेका छन् । समूह बी का सबै खेलहरु भने माथिल्लो मूलपानी मैदानमा हुनेछ । दुबै समूहमा शीर्ष ४ टिमले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् भने फाइनल पुग्ने दुई टिमले विश्वकपमा आफ्नो चूनौती पेश गर्ने मौका सुनिश्चित गर्नेछन् ।

नेपालले कुन खेल को सँग कहिले खेल्दैछ ?

एसिया क्षेत्रको विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । शनिबार घोषित टिममा पूर्व कप्तानसमेत रहेका सन्दीप लामिछाने र विनोद भण्डारीलाईसमेत समावेश गरिएको छ । नाबालिग बलात्कार मुद्दा खेपिरहेका लामिछाने केहि समयदेखि टिमबाट बाहिर रहेका थिए । उनको मुद्दाको पेशी कार्तिक २३ गतेलाई तोकिएको छ । सो दिनभन्दा अघिनै छनोट खेलहरु सम्पन्न भइसक्ने हुँदा लामिछाने टिममा फर्किन राजी भएको क्यान स्रोतले जनाएको छ ।

क्यानले शनिबार घोषणा गरेको नपाली टिममा भण्डारी र लामिछानेका अतिरिक्त कप्तान रोहितकुमार पौडेल,ओपनरद्धय कुशल भूर्तेल र आसिफ शेख, अलराउण्डर दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, करण केसी, सन्दीप जोरा, ललित राजवंशी, गुल्सन झा, सोमपाल कामी, अभिनास बोहरा, प्रतिश जिसी, विवेक यादव रहेका छन् ।

नेपालले आफ्नो समूहचरणको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध खेल्नेछ । जून खेल बिहान ९ बजे टियू क्रिकेट मैदानमा हुनेछ । भने आफ्नो दोस्रो खेलमा नेपालले मांगलबार मलेसिायसँग खेल्नेछ । उक्त खेल टियू मैदानमै दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ । भने समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार ओमानसँग खेल्नेछ । उक्र खेल बिहान ९ बजेबाट सुरु हुने क्यानले जनाएको छ । सेमिफाइनलको खेल शुक्रबार हुनेछ भने आइतबार फाइनल खेल हुने क्यानले जनाएको छ ।

उच्च लयमा रहेको नेपाल छनोट हुनेमा ढुक्क!

सोमबारबाट सुरु हुने छनोट खेलका लागि नेपाली टिम तयार रहेको क्यानले जनाएको छ । नेपालले उपाधि आफ्नै पोल्टामा पार्दै विश्वकपमा स्थान पक्का गर्ने लक्ष्यकासाथ मैदानमा उत्रिने खेलाडीहरु बताउँछन् । हाल नेपाली क्रिकेट टिम उच्च लयमा रहेको छ । पछिल्लो एक वर्षयता नेपालले क्रिकेटमा फड्को मारेको दाबी क्यानले गर्दै आएको छ । नेपाली टिमलाई घरेलु समर्थकको साथ रहनेछ भने लगाताररुपमा प्रतियोगीता खेलिरहेका हुँदा खेलाडीहरु उच्च मनोबलमा रहेका छन् ।

गत वर्ष लिग टू खेलेको नेपालले शीर्ष तीनमा रहँदै वान डे विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेको थियो भने नेपालले गत महिना चीनमा सम्पन्न भएको एसियाडमा समेत विश्वकीर्तिमान कामय गदैृ सन्सारको ध्यानआकृष्ट गराएको थियो । भने नेपालले गत शुक्रबार सम्पन्न यूएई नेपाल र हंकङ सम्मिलित त्रिकोणात्मक सिरिजमा पनि ५ मध्ये ४ खेल जितेको थियो । यसैवर्ष सम्पन्न एसीसी इमर्जिङ कपकोसमेत उपाधि चुमोको नेपालले पाकिस्तान र श्रीलंकामा आयोजना भएको एसिया कपसमेत खेलेको थियो ।

पछिल्ला खेलको प्रदर्शनले नेपाललाई फाइदा छ । नेपाल टी-२० वरीयतामा छनोट खेल्नेमध्ये सबैभन्दा माथि १६औं स्थानमा छ । बाँकी टिमहरुमा पनि खासै अन्तर छैन । यूएई १७औं, ओमान २०औं, हङकङ २१औं, मलेसिया २५औं, कुवेत २७औं, बहराइन २८औं र सिंगापुर ३६औं स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖