• Thursday 8th of October 2026

प्रचण्ड,ओली र देउवाबीच २ घण्टा लामो छलफल, के भयो कुराकानी ?


  • धनकुटा खबर
  • .

काठमाडौं,१५ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

ओली, दाहाल, देउवाबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै २ घण्टा लामो छलफल भएको हो । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउने विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।

यसअघि पनि प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग भेटेर शान्ति प्रक्रियामा सहमति जुटाउने प्रयास गर्दै आइरहेका छन् । तर, ओलीले आफ्नो कारणले नभई प्रधानमन्त्री प्रचण्डकै कारणले अझै शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन नसकेको आरोप लगाउँदै आएका छन् ।

स्रोतका अनुसार संक्रमणकालीन न्यायसम्बन्धी कानुनको विषयमा अधिकांश रूपमा सहमति जुटिसकेकोले केही नमिलेको विषय राजनीतिक रूपमा टुंग्याउनुपर्ने भएपछि शीर्ष नेतृत्व छलफलमा जुटेका हुन्। बालुवाटारमा ओली पुगे लगत्तै छलफलका लागि सभापति देउवा पनि पुगेका हुन्। उनीहरुबीच झण्डै २ घण्टा त्रिपक्षीय छलफल भएको छ।

संक्रमणकालीन न्यायसम्बन्धी कानुन संसद्को शान्ति तथा मानव अधिकारमा समितिमा छ। समितिले उपसमिति बनाएर अधिकांश विषयमा सहमति गरेका छन्। उपसमितिले सहमतिमा नै प्रतिवेदन तयार गरेको छ। राजनीतिक तहमा टुंग्याउनु पर्ने विषय मात्रै टुंगिन बाँकी छ।

नेपालको चार दिने औपचारिक भ्रमणमा आएर आजमात्रै राष्ट्रसंघको मूख्यालमा फर्किएका महासचिव एन्टिनियो गुटेरेसले पनि मंगलबार संघीइ संसदलाई सम्बोधन गर्दै सहमतिका आधारमा पीडितले न्याय महसुस गर्नेगरी टीआरसी विधेयक टुंगोमा पर्याउन अपील गरेका थिए ।

सरकारले संसद्को चालू अधिवेशनबाटै टीआरसी विधेयकलाई टुंग्याउन जोडबल गरिरहेको छ । प्रतिनिधि सभाको बैठक बिहीबारका लागि डाकिएको छ । अल्झिरहेको शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन नसकेपछि अहिले अन्तर्राष्ट्रिय समुदायले पनि दबाब बढाउँदै लगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖