• Tuesday 6th of October 2026

नेपाललाई युएईविरुद्ध बदला लिँदै विश्वकपमा पुग्ने मौका


  • धनकुटा खबर
  • .

काठमाडौं– नेपाल र संयुक्त अरब इमिरेटस (यूएई) बीचमा प्रतिस्पर्धा हुँदैछ । जारी आसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग मैदानमा उत्रन लागेको हो ।

सो खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ । खेल ठिक बिहान ११ बजे देखि सुरु हुने आयोजकले जनाएका छन । केही समय देखी जारी विश्वकप छनोटको सेमिफाइनल तथा नेपालका लागि निर्णायक मानिएको खेलमा आज नेपालले यूएईसँग भिड्न लागेको हो ।

नेपाल समूह एको उप–विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ।

नेपाल युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रने छ । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् ।

नेपाल २०२१ को छनोटको निर्णायक खेलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन । नेपाल त्यो हारको बदला लिँदै विश्वकप खेल्न चाहन्छ । नेपालको कुशल मल्ल र युएईका मोहम्मद वासिम प्रमुख विष्फोटक ब्याटर हुन् । यी दुई ब्याटरको प्रदर्शनले टोलीको योगफल वा नतिजा निर्भर हुनसक्छ । दुबै चलेको खण्डमा टोलीको जित भने सहज बनाउन सक्ने खुबी राख्छन् ।

युएईका आयन खान र नेपालका सन्दीप लामिछाने दुबै प्रमुख स्पिनर हुन् । नेपाललाई आयन घातक बन्दै आएका छन् । उनको बलमा केहि सचेत हुनुपर्छ । युएईका तीव्र गतिका बलर जहुर खान र जुनैद सिद्दिक प्रमुख तीव्र गतिका बलर हुन् । जुनैदले नयाँ बल र जहुरले डेथ ओभरमा राम्रो गर्दै आएका छन् ।नेपालका सोमपाल कामी र करण केसी प्रमुख तीव्र गतिका बलर हुन् । दुबैले नयाँ बलका साथ राम्रो गर्दै आएका छन् । डेथ ओभरमा प्रदर्शन त्यति राम्रो छैन । डेथ ओभरमा अभिनाश बोहराको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

नेपालका कुशल भुर्तेल, विवेक यादव र रोहित पौडेलले आफ्नो उत्कृष्ट प्रदर्शनमा टोलीलाई जिताउन सक्ने खुबी राख्छन् । युएईका आसिफ खान, वृत्य अरविन्द र बासिल हामिद पनि घातक बन्नसक्छन् । युएईका बासिल र अली नासिरले लगातार राम्रो गर्दै आएका छन् ।

नेपालले टोलीमा परिवर्तन गर्ने झिनो सम्भावना छ । यदि दीपेन्द्र सिंह ऐरीलाई जोखिम लिएर खेलाएमा सन्दीप जोरा बाहिर हुनुपर्छ । अन्य परिवर्तन देखिदैन । उता वृत्य अरविन्द घाइते छन् । उनी खेल्न नसके अर्यांश शर्मा खेल्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖