काठमाडौ । नेपालले आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट उपाधिको लागि ओमानसँग खेल्ने भएको छ ।
नेपाल र ओमानबीचको फाइनल खेल आइतबार टियु क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।
समूह ‘ए’काे उपविजेता नेपालले दोस्रो सेमिफाइनल खेलमा समूह ‘बी’काे समूह विजेता युएईलाई ८ विकेटले हराउँदै टि-२० विश्वकपमा स्थान बनाएर एसिया क्षेत्रकाे फाइनलमा प्रवेश गरेकाे हाे भने, समूह ‘ए’काे विजेता ओमानले पहिलो सेमिफाइनल खेलमा बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा स्थान बनाएर फाइनल प्रवेश गरेकाे हाे ।
नेपाल र ओमान दुबैले २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि-२० विश्वकप खेल्नेछन् ।
नेपाल र ओमान समूह ‘ए’बाट सेमिफाइनल खेलेका थिए । समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो ।
नेपालले हालसम्म विश्वकप छनोटको उपाधि जितेको छैन ।
यसअघि नेपालले २०१८ मा एसिसी इस्टर्न सब रिजन टुनामेन्टको उपाधि जितेको थियो । नेपालले पहिलो पटक २०१४ मा बंगलादेशमा टि-२० विश्वकप खेलेको थियो ।
त्यसपछि नेपालले विश्वकपमा स्थान बनाउन सकेको थिएन । नेपाल २०१५ र २०२१ मा ग्लोबल छनोटबाट बाहिरिएको थियो । २०१९ मा भने नेपाल एसिया क्षेत्रबाट नै बाहिरिएको थियो ।
विश्व खेलेकाे १० वर्ष पछि नेपालले २०२४ मा दास्राे पटक विश्वकप खेल्ने भएकाे छ ।
