• Tuesday 6th of October 2026

विश्वकपमा छनोट भएको क्रिकेट टोलीलाई अर्नाको पुरस्कार ४१ लाख ७६ हजार


  • धनकुटा खबर
  • .

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटमा उपविजेता बनेको नेपाली टोलीले अर्ना बियरको तर्फबाट कुल ४१ लाख ७६ हजार पुरस्कार पाउने भएको छ ।

प्रतियोगिता सुरु हुनुअघि नेपाली खेलाडीलाई प्रोत्साहन गर्न अर्ना बियरले विभिन्न विधामा पुरस्कार राशीको घोषणा गरेको थियो । अर्नाले प्रत्येक डट बलका लागि २ हजार, विकेटका लागि ३० हजार, मेडन ओभरका लागि २० हजार, एक रनका लागि १५ सय, एक चौकाको १५ हजार र एक छक्काको २५ हजार दिने घोषणा गरेको थियो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा नेपाल ओमानसँग सुपर ओभरमा ११ रनले पराजित हुँदै उपविजेतामा सिमित भएको थियो ।

सुपर ओभरअघि नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाउँदै १ सय ८४ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

फाइनल खेलमा नेपालले ३१ डट बल खेल्दा आठ विकेट लिएको थियो । नवौं विकेटमा ओमानका फेयाज बट करण केसीको हातबाट रनआउट भएका थिए । कुल १७७ रन बनाउँदा नेपालले अतिरिक्त आठ रन पाएको थियो । त्यस्तै नेपाली खेलाडीले १५ चौका र ११ छक्का प्रहार गरे । नेपाली खेलाडीहरु मेडन ओभर फाल्न भने असफल रहे । फलस्वरुप नेपाली खेलाडीले फाइनलमा मात्र अर्नाबाट १० लाख ६५ हजार ५ सय रुपैंया प्राप्त गर्न सफल भए ।

यसअघि खेलाडीले सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स(युएई)विरुद्ध ८ लाख ९ हजार ५ सय रुपैंया र समूह चरणका तीन खेलमा कुल २२ लाख ९९ हजार रुपैंया प्राप्त गर्न सफल भएका थिए ।

जसमध्ये उसले सिंगापुरविरुद्धको समूहको पहिलो खेलमा ६ लाख ६४ हजार, मलेसियाविरुद्धको दोस्रो खेलमा ८ लाख ४४ हजार र ओमानविरुद्धको तेस्रो खेलमा ७ लाख ९१ हजार प्राप्त गर्न सफल भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖