• Friday 9th of October 2026

भूकम्प प्रभावित क्षेत्रमा प्रचारभन्दा सेवा महत्त्वपूर्ण हुन्छ, सहयोगका लागि जुटौंः केपी ओली


  • धनकुटा खबर
  • .

काठमाडौं, २० कात्तिक । नेकपा (एमाले अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम (पश्चिम) मा सहयोगका लागि आह्वान गरेका छन् । उनले विपद्को बेला प्रचारभन्दा सेवाको महत्व हुने बताउँदै भूकम्प प्रभावित क्षेत्रमा अनावश्यक भीडभाड नगर्न पनि भनेका छन् ।

अध्यक्ष ओलीले यतिबेला जाजरकोट र रुकुम (पश्चिम) का भूकम्प प्रभावितहरुलाई अस्थायी आवासका लागि त्रिपाल, खाद्यान्न, लत्ताकपडा, घाइतेको औषधि उपचार आवश्यक रहेको बताएका छन् । उनले तत्कालको आवश्यकता पूरा गर्न काममा जुट्न आह्वान गरेका छन् ।

‘जाजरकोट र पश्चिम रुकुमको भूकम्प प्रभावित क्षेत्रमा यतिखेर अस्थायी आवासका लागि त्रिपाल, खाद्यान्न, लत्ताकपडा, घाइतेका लागि औषधि उपचार चाहिएको छ। विपद्को यो समयमा हामीले त्यहाँ तत्कालको आवश्यकता पूरा गर्ने काम गर्नु पर्छ। त्यहाँ अहिले सीपयुक्त दक्ष जनशक्ति आवश्यक छ। विपतमा प्रचार भन्दा सेवा महत्त्वपूर्ण हुन्छ, भीडभाड गरेर अल्झाउनु हुँदैन। यसरी उद्दार र उपचारमा खट्नुहुने सबैप्रति आभार !’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु भएको छ । उक्त भूकम्पमा परी दुई सय ५० भन्दा धेरै घाईते भएका छन् । भूकम्पका कारण धेरै घरहरु भत्किएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖