• Friday 9th of October 2026

राष्ट्रपति पौडेलसँग भूकम्प पीडितले भने, ‘बाँच्ने आधार व्यवस्था गरिदिनुस्’


  • धनकुटा खबर
  • .

काठमाडौँ, २१ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । उनले आज जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रपति पौडेलसँग घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले भूकम्प प्रभावितलाई आवश्यक बसोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपतिको भनाइ उदृत गर्दै सल्लाहकार पोखरेलले भने, “तपाईंहरुका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्नु पर्दैन । म सरकारसँग कुरा गर्छु ।” सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गएका थिए । घाइतेहरूको अवस्थाबारे जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराएका थिए।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज सुर्खेतबाट जाजरकोट पुगेका हुन् । उनका प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठविसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिर्नेछन् ।

राष्ट्रपति पौडेलका साथमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी छन्। भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले कात्तिक २२ गतेदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖