• Friday 9th of October 2026

भूकम्प प्रभावित क्षेत्रमा खटिए कांग्रेसका दुई महामन्त्री, गर्नेछन् यी सात कामहरु


  • धनकुटा खबर
  • .

काठमाडौं,२२ कार्तिक । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम खटिएका छन् ।

शुक्रबार राती गएको जाजरकोट भूकम्पपछिका अवस्थाबारे अनुगमन र सहजीकरण गर्न कांग्रेसले महामन्त्रीद्वय थापा र शर्माको संयोजकत्वमा समितिसमेत गठन गरेको थियो।

भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमलगायत क्षेत्रको स्थलगत अवलोकनका लागि महामन्त्रीद्वय थापा र शर्मा बुधबार त्यसतर्फ गएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर महामन्त्रीद्वय विशेष गरी सात कार्यमा केन्द्रित रहने उल्लेख गरेका छन्।

‘महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरुप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्‍याउनु हुनेछ,’ मुख्यसचिव पौडेलले भनेका छन् ।

मुख्यसचिव पौडेलकान अनुसार भूकम्प प्रभावित क्षेत्रमा खटिएका महामन्त्रीद्धय थापा र शर्माले यी सातवटा मुख्य कामहरु गर्नेछन् ।

(१) उद्धार कार्य अत्यन्तै तदारुक र प्रशंसनीय ढंगले भए पनि राहत सामग्री अझै पनि कयौँ पीडितमा नपुगेको भनेर सञ्चार माध्यम मार्फत उजागर कमजोरीहरूको वास्तविकता पहिचान गरी अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण ।

(२) संघ, प्रदेश, स्थानीय सरकार, राजनैतिक दलहरू, विभिन्न संघ–संस्था एवं स्वयं सरकारी निकायहरू बीच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय भएको छ या छैन । छैन भने एकद्वार पालना गर्न÷गराउन थप सुझाव र सहजीकरण ।

(३) उद्धार र राहतमा पुगेका बाह्य संघ–संस्था र व्यक्तिहरूबाट कतै प्रतिकुल असर परेको अवस्था त छैन ? सो निरीक्षण गरेर अविलम्ब त्यस्तो स्थितिलाई व्यवस्थापन गर्न÷गराउन सुझाव र सहजीकरण गर्ने ÷गराउने ।

(४) उद्धार र राहत क्रममा नेपाली कांग्रेस पार्टीको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरी एवं अन्य दलहरूसँगको समन्वयको सहज स्थिति रहेको नरहेको स्थलगत बुझेर जरुरी समन्वय र प्रभावकारितामा प्रेरित गर्ने तथा दीर्घकालीन रूपमा पुनर्स्थापनामा सम्पादन गर्नुपर्ने विषयहरूको अध्ययन गर्ने ।

(५) घाइतेको उपचारमा ध्यान केन्द्रित गर्ने स्वभाविक र अनिवार्य दायित्व निर्वाह गरिरहँदा, भूकम्पबाट घाइते नभएका तर अन्य प्रकारका बिरामीको उपचारमा असहजताको अवस्था भएको हुनसक्ने स्थिति दृष्टिगत गरेर स्थिति व्यवस्थापनका अलग्गै संयन्त्र निर्माणमा समन्वय गर्ने ।

(६) सुत्केरी, अपांगता भएका नागरिक, बालबालिका एवं वृद्धवृद्धालाई विशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचान र निदानमा जरुरी समन्वय ।

(७) पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपाली कांग्रेसको धारणा प्रधानमन्त्रीलाई लिखित रूपमा बुझाइएको छ । यसको कार्यान्वयनमा के कस्तो समस्याहरू आइपर्न सक्छन्, सरोकारवालाहरूको सुझावहरू के के छन्, आदि विषयमा जरुरी परामर्श र अध्ययन गर्ने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖