नेपाल सुपर लिगको दोस्रो सिजन खेल्न अष्ट्रेलियाबाट आएका डिफेन्डर दिनेश राजवंशी प्रहरी हिरासतमा रहेको खुल्न आएको छ ।
एनएसएलको पोखरा थन्डर्सले शुक्रबार दिनेशलाई नेपालमा स्वागत गरेको थियो । त्यसयता केहि दिन क्लबसँगै प्रशिक्षण गरेका दिनेशले राष्ट्रिय टोलीविरुद्ध भएको मैत्रीपूर्ण खेलमा पनि सभागिता जनाएका थिए । तर त्यसपछि उनी क्लबको प्रशिक्षणमा सहभागी थिएनन् ।
स्रोतका अनुसार दिनेशसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बुधबार राती दरबारमार्ग क्षेत्रमा उनीहरुले अभद्र व्यवहार गरेको आरोप रहेको छ । दिनेश हाल प्रहरी वृत्त दरबारमार्गको हिरासतमा रहेको प्रहरी स्रोतले हाम्रो खेलकुदलाई जानकारी दियो ।
दिनेशसहित ४ जानमाथि अभद्र व्यवहारको मुद्दा परेको छ । थप अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्न विहीबार अदालतले ७ दिनको म्याद थप गरिसकेको छ । उनी अब कम्तिमा अर्को सातासम्म प्रहरी हिरासतमै रहने भएका छन् ।
दिनेश यसअघि राष्ट्रिय टोलीमा रहँदा अनुशासन तोडेको कारण एन्फाको कारवाहीमा पनि परेका थिए । ४ वर्षअघि दिनेशसहित ४ खेलाडीले राष्ट्रिय टोलीको क्याम्प छोडेर बाहिर गएका कारण एन्फाले कारवाही गरेको थियो । त्यसबेला दिनेशले राष्ट्रिय टोलीबाट बाहिर रहनुका साथै १३ औं दक्षिण एसियाली खेलकुद र ए डिभिजन लिगमा पनि केहि खेल गुमाएका थिए ।
पोखराले उनलाई संस्करणका लागि दिनेशलाई आफ्नो आईकोनिक खेलाडीको रुपमा सार्वजनिक गरेको थियो । उनले भर्खरै अष्ट्रेलियाको भिक्टोरिया स्टेट लिगमा यति एफसीबाट खेलेका थिए ।
अघिल्लो सिजन ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडले अनुबन्ध गरेपछि दिनेशले जनवरी २०२३ मा नेपाल छोडेर अस्ट्रेलिया गएका थिए । उनले लिग सुरु हुनुअघि नै नेपाल छाडेका थिए ।
अष्ट्रेलिया जान महासागर पार गर्नुअघि दिनेश नेपाली राष्ट्रिय टोलीको नियमित सदस्य थिए । उनले नेपालको तर्फबाट २६ खेल खेलिसकेका छन् जसमा २४ खेलमा सुरुवाती रोजाईमा रहेरै खेलेका छन् ।
उनले २०७८ को ए डिभिजन लिग सिजन मनाङ मर्स्याङ्दी क्लबको प्रतिनिधित्व गरेका थिए। उनले त्यस लिग सिजनको सबै १३ खेलमा हरेक मिनेट खेलेका थिए। उनले एनएसएलको पहिलो संस्करणमा धनगढी एफसीको प्रतिनिधित्व गरेका थिए ।
पोखराले आयुष घलानलाई मार्की साइनिङ गरिसकेको छ । दोस्रो संस्करणमा पोखरा टोलीलाई भारतीय प्रशिक्षक मेहराजुद्दिन वाडुले प्रशिक्षण दिनेछन् । ९ टोलीको सहभागितामा मंसिर ८ गते एनएसएल सुरु हुँदैछ।
