• Tuesday 6th of October 2026

विश्वकपमा अस्ट्रेलियाविरुद्ध जितको पर्खाइमा बंगलादेश


  • धनकुटा खबर
  • .

पुणे । एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र बंगलादेशबिचको खेल हुँदैछ । खेल पुणेको एमसीए स्टेडियममा बिहान १०ः४५ बजे सुरु हुनेछ ।

आज दुवै टोली ४ वर्षपछि आमनेसामने हुँदैछन् । यी दुई पछिल्लो पटक २०१९ को विश्वकपमा भिडेका थिए ।

आजको खेल जिते बंगलादेशले २०२५ मा हुने च्याम्पियन्स ट्रफीको टिकट काट्नेछ । टोली ४ अङ्कसहित आठौँ स्थानमा छ । तर बंगलादेशले यो खेल हार्‍यो र नेदरल्याण्ड्सले भारतसँग जित्यो भने टोली च्याम्पियन्स ट्रफीमा छनोट हुने छैन।

अस्ट्रेलिया १२ अङ्कसहित सेमिफाइनलमा प्रवेश गरिसकेको छ । तर, टोलीले अझै बेन्च स्ट्रेन्थ परीक्षण गरेको छैन। शान एबोटजस्ता खेलाडीले अहिलेसम्म एउटा खेल खेलेका छैनन् । अस्ट्रेलियासँग सेमिफाइनलअघि यी खेलाडीको परीक्षण गर्ने मौका छ ।

हेड टू हेड

विश्वकपमा दुवै टोली ४ पटक आमनेसामने भएका छन् । अस्ट्रेलियाले ३ खेल जितेको थियो भने २०१५ को विश्वकपमा एक खेल रद्द भएको थियो।

यी दुई टोलीले सन् १९९९, २००७ र २०१९ को विश्वकपमा प्रतिस्पर्धा गरेका थिए । बंगलादेश विश्वकपमा अस्ट्रेलियाविरुद्ध जितको पर्खाइमा छ ।

बंगलादेशका लागि यो प्रतियोगिता राम्रो भएन । टोलीले ८ खेलमध्ये ६ खेलमा हार बेहोरेको छ । तर अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्दै च्याम्पियन्स ट्रफीमा छनोट हुने आशा जीवितै राखेको छ । विश्वकप अंक तालिकाको शीर्ष ८ मा पर्न सक्ने टोलीले सन् २०२५ को च्याम्पियन्स ट्रफीका लागि छनोट हुनेछन्।

बंगलादेशले आज कप्तान शकिब अल हसन बिना खेल्नेछ । साकिब औँलाको चोटका कारण बाहिर छन्, उनको अनुपस्थितिमा नजमुल हुसेन शान्तोले टोलीको जिम्मेवारी सम्हाल्नेछन्। बलिङको जिम्मेवारी शोरिफुल इस्लाम र मेहदी हसन मिराजले लिनुपर्नेछ । युवा तान्जिम हसन शकिबले श्रीलङ्का विरुद्ध तीन विकेट लिए, तर आफ्नो १० ओभरमा ८ को इकोनोमी सहित ८० रन दिए।

अस्ट्रेलियालाई प्रयोग गर्ने अवसर

ग्लेन म्याक्सवेलले खेलेको शानदार इनिङ्सपछि प्याट कमिन्सको कप्तानीमा रहेको टोली सेमिफाइनलमा पुगेको छ । दुवैले मिलेर अस्ट्रेलियालाई ७ विकेटको क्षतिमा ९१ रनको नाजुक अवस्थाबाट उकासेर अफगानिस्तानले दिएको २९२ रनको लक्ष्य पुरा गरेका थिए ।

ओपनर डेभिड वार्नर आठ इनिङ्समा ४ सय ४६ रन बनाएर टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । योसँगै नम्बर ६ ब्याट्सम्यान ग्लेन म्याक्सवेलले ३९७ रन बनाएका छन्, जसमा विश्वकपको सबैभन्दा छिटो शतक र दोहोरो शतक पनि समावेश छ ।

अस्ट्रेलियाको बलिङ युनिट उत्कृष्ट छ । फास्ट बलिङमा मिचेल स्टार्क, जोस हेजलउड र प्याट कमिन्सले कुल ३० विकेट लिएका छन् भने स्पिनर एडम जाम्पाले २० विकेट लिएका छन् । म्याक्सवेललाई आज टिममा आराम दिएर सिन एबोटलाई मौका दिन सकिन्छ ।

मौसम अवस्था

वर्षाले अस्ट्रेलिया र बंगलादेशको खेलमा बाधा पुर्‍याउने छैन। तापमान २६ देखि ३२ डिग्री सेल्सियसको बिचमा हुनेछ र प्रशंसकहरूले कुनै अवरोध बिना खेल पूरा हुने आशा गर्न सक्छन्।

पिच रिपोर्ट

पुणेको एमसीए स्टेडियममा ब्याट्सम्यानका लागि सहज हुनेछ । टस जित्ने टोलीले बलिङ रोज्न मन पराउनेछ। पछिल्लो पाँच खेलमा यहाँको पहिलो इनिङ्सको औसत स्कोर ३०४ रन रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖