• Friday 9th of October 2026

सुदूरपश्चिमका ६ जिल्ला भूकम्पको उच्च जोखिममा, कति छ जमिनको उच्च प्रवेग?


  • धनकुटा खबर
  • .

धनगढीः सुदूरपश्चिम प्रदेशका ६ जिल्ला भूकम्पको उच्च जोखिममा रहेको पूर्वशिक्षा मन्त्री एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् विपद् विज्ञ सदस्य डाक्टर गंगालाल तुलाधारले बताएका छन्।

सुदूरपश्चिमको अछाम, बैतडी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र डोटी भूकम्पको उच्च जोखिममा रहेको उनले बताएका हुन्। उनले हालै मात्र कैलालीको धनगढीमा सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको भूकम्प प्रकोप नक्साअनुसार प्रदेशमा जमिनको उच्च प्रवेग गुरुत्वाकर्षण शून्य दशमलव २६ जीदेखि शून्य दशमलव ३८ जीसम्म रहेको छ।

उच्च भूकम्पीय प्रकोप प्रदेशको चुरे तथा लेसर हिमालय क्षेत्रमा रहेको समेत उनले बताए। यदि ८ दशमलव ६ म्याग्निट्यूडको भूकम्प गए सबैभन्दा बढी मानवीय एवं भौतिक क्षति कैलाली र त्यसपछि कञ्चनपुरमा हुने अनुमान समेत गरिएको छ। विपद् जोखिम न्युनीकरण अन्तर्गत निवारणका लागि भूकम्प प्रतिरोधी भवन निर्माण, चेक ड्याम निर्माण र भूू–उपयोग नीतिको पालना गर्नुपर्ने विपद् विज्ञ तुलाधरले बताए।

त्यस्तै, वायु ईन्जिनियरिङ वृक्षारोपण र भवन प्रवलीकरण तथा अनुकूलनका लागि आकाशे पानी संकलन र खडेरी सहन सक्ने बिउ उपयोगमा ल्याउनुपर्ने उनको सुझाव छ। साथै, पूर्व तयारीका लागि खाद्यान्न लत्ताकपडाको भण्डारण र पूर्व चेतावनी प्रणाली जडान गर्न तुलाधरको सुझाव छ।

प्रतिकार्य योजना अन्तर्गत खोज तथा उद्धार र तयारी खाना र पानी वितरणमा जोड दिनुपर्नेमा उनको सुझाव छ। त्यस्तै, विपद् व्यवस्थापन अन्तर्गत पुर्नलाभका लागि बिग्रेका भत्किएका संरचनाको पुनःनिर्माण र जीविकोपार्जन, शिक्षा तथा खानेपानीको पुनःस्थापना गर्नुपर्ने तुलाधरले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖