नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जाजरकोटको भूकम्प प्रभावित बस्ती नलगाडको चिउरीबाट पार्टीको भूकम्प पुनर्निर्माण अभियानको उद्घाटन गरेको छ ।
पार्टीका महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्तरुपमा चिउरी बस्तीबाट अभियानको शुरूवात गरेका हुन् ।
भूकम्पमा घर भत्केका एकल परिवार काले विकको घर पुनर्निर्माण गरी अभियानको थालनी गरिएको पार्टी निकट जनपत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रेले बताए ।
पार्टीद्वारा संकलित राहत सामग्री शुक्रवार जाजरकोट सदरमुकाममा जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेर महासचिव विप्लव र प्रकाण्ड शुक्रवार राति नलगाड पुगेका थिए ।
शनिवार बिहान उनीहरूले स्थानीय जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्तासँग छलफल गरेका थिए । छलफलमा महासचिव विप्लवले भूकम्पपछिको अफ्ट्यारो परिस्थितिमा आफ्नो पार्टी जनतासँग रहेको बताएका थिए ।
भूकम्पबाट नालगाडमा १३ जनाको मृत्यु भएको थियो । विप्लव र प्रकाण्ड आइतवार रुकुमका प्रभावित बस्तीमा जाने कार्यक्रम छ ।
