• Friday 9th of October 2026

बिहे दर्ता गर्न नमानेर ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीविरूद्ध पत्नीद्वारा उजुरी


  • धनकुटा खबर
  • .

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले पत्नी जानकी पाण्डेसँग ६ वर्षअघि भएको बिहे दर्ता गर्न अस्वीकार गरेको र मार्नेसम्मको धम्की दिएको भन्दै महिला आयोगमा उजुरी परेको छ।

महिला आयोगभन्दा अगाडि उनी शान्ति सुरक्षा माग गर्दै प्रहरीमा समेत गएकी थिइन्।

बिहे दर्ता गर्न वडामा निवेदन दिँदा पनि सुरेन्द्र नआएको र उल्टै आफूलाई मार्नेसम्मका धम्की दिएको भन्दै जानकीले महिला आयोगमा उजुरी गरेकी हुन्।

महिला आयोगकी अध्यक्ष कमला पराजुलीले जानकीले उजुरी दिएको पुष्टि गरिन्।

‘वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीविरूद्ध उहाँकी पत्नीको उजुरी आएको छ र सुनुवाइको प्रक्रियामा छ। योभन्दा बढी मलाई केही थाहा छैन,’ पराजुलीले भनिन्।

अधिवक्ता समेत रहेकी जानकीले पनि सुरेन्द्रले बिहे दर्ता गर्न नमान्ने र उल्टै ज्यान मार्ने धम्की दिन थालेपछि महिला आयोगमा जानुपरेको बताइन्।

उनले महिला आयोगमा दिएको उजुरीमा बिहे दर्ता नभएपछि विवाद समाधान गर्न आफन्त र साथीभाइबीच छलफल गर्न बस्दा सुरेन्द्रले मारिदिन्छु भनेर धम्की दिएको उल्लेख गरेकी छन्।

प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएको र प्रहरीले समेत दुवैलाई तारेखमा राखेको उनको उजुरीमा उल्लेख छ।

‘बिहे दर्ता लगायत विवादले गर्दा मेरा ज्यान लिने र फौजदारी अभियोगमा फसाउने धम्की दिएपछि शान्ति सुरक्षाको निवेदन दिएकोमा प्रहरी परिसर ललितपुरले हामी दुवैलाई तारेखमा समेत राखेको छ,’ जानकीको उजुरीमा उल्लेख छ, ‘विवाहका फोटाहरू, संयुक्त बसोबास, विभिन्न क्षेत्र र स्थानमा रहेका स्पष्ट प्रमाण हुँदाहुँदै बिहे दर्ता गर्न अस्वीकार गर्दा मेरो महिला अधिकार हनन् भएकाले श्रीमान सुरेन्द्रराज भण्डारीलाई कानुनबमोजिम कारबाही गरी विवाह दर्ताका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन जारी गरी पाऊँ।’

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहका अनुसार जानकी दसैंअघि उजुरी लिएर परिसर आएकी थिइन्। उजुरी दिन आउने क्रममा प्रहरीले आफूसँग भएको प्रमाण जुटाएर ल्याउन भनेको थियो। तर त्यसपछि जानकी नआएको उनले बताए।

जानकीका अनुसार, उनीहरूको विवाह २०७४ साल माघ १९ गते परम्परा बमोजिम परिवारका सदस्यहरूको बीचमा भएको थियो। दोस्री पत्नीसँग पनि सम्बन्ध विच्छेद भएपछि सुरेन्द्रले जानकीसँग बिहे भएको थियो। बिहेपछि ललितपुरको सैंबुस्थित सुरेन्द्रको घरमै उनी बस्दै आएकी थिइन्।

झण्डै ८ महिनाअघि उनी स्विट्जरल्याण्ड जानुपर्ने भयो। त्यो बेला आफ्नो पासपोर्टको म्याद सकिन लागेको थाहा पाएपछि उनले नवीकरणको प्रक्रिया थालेकी थिइन्। पासपोर्ट बनाउन अहिले राष्ट्रिय परिचय पत्र चाहिन्छ। त्यहाँ वैवाहिक स्थिति पनि खुलाउनुपर्ने भएपछि उनले सुरेन्द्रलाई बिहे दर्ता गराउन वडा कार्यालय जाऔं भनिन्।

गएको चैतमा सुरेन्द्रले बिहे दर्ताको फारम भरे पनि बिहेको मिति भने ६ वर्षअघिको राख्न मानेनन्। बरू २०८० सालमा बिहे दर्ता गरौं भने।

‘जहिले बिहे भएको हो त्यही मिति राखेर बिहे दर्ता गर्न मिलिहाल्छ। यत्रो वर्ष तिमी र म पतिपत्नी नै भएर बसेपछि अहिले बिहे गरेको किन बनाउने भनेर मैले प्रश्न गरेपछि उनले त्यसो भए मैले बिहे दर्तै गर्दिनँ भनेर हिँडे,’ जानकीले भनिन्।

त्यसपछि उनी ललितपुर महानगरपालिका- ३२ को वडा कार्यालयमा बिहे दर्ताका लागि गइन्। वडा कार्यालयलाई नै सुरेन्द्रलाई सनाखतका लागि बोलाउन आग्रह गरिन्। वडाले बोलाए पनि सुरेन्द्र गएनन्। त्यसपछि जानकी महिला आयोग गएकी हुन्।

‘बिहे गरेर सँगै बसेको पाँच वर्षपछि जब राहदानी बनाउनुपर्ने भयो, बिहे दर्ता गर्न मानेनन्। माइतीको ठेगानाबाट मात्र त नवीकरण पनि नहुने भयो। ६ महिनासम्म पनि बिहे दर्ता गर्न मानेनन्। यो त महिलाको अधिकार हनन भयो नि होइन र? त्यसमाथि मलाई ज्यान मार्नेसम्मका धम्की आउन थाले,’ जानकीले भनिन्, ‘त्यसैले म प्रहरीकहाँ र महिला आयोग गएकी हुँ।’

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले भने राज्यको निकायमा उजुरी पुगिसकेकाले प्रक्रिया पूरा नभई आफू मिडियामा नबोल्ने बताए।

‘यो विषयमा म तीन कुरा राख्न चाहन्छु। पहिलो त यो मिडियाको विषय होइन। पारिवारिक विषय हो। संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार कानुनले पनि गोपनीयताको अधिकार मानेको छ। मिडियाले सार्वजनिक विषयमा लेख्ने हो। व्यक्तिगत विषयमा लेखेर व्यक्तिको इज्जत प्रतिष्ठामा आँच पुर्‍याउने काम गर्नु हुँदैन,’ उनले भने।

उनले थप भने, ‘दोस्रो, यो विषय महिला आयोगमा उजुरी परेको छ भनेर महिला आयोगबाट मैले थाहा पाएको छु। उजुरी मैले पढ्न पाएको छैन। यो विषय प्रक्रियामा छ। त्यहाँ मैले आफ्नो कुरा राख्छु। प्रक्रिया नटुंगिदै मिडियामा प्रतिवाद गर्नु र आफ्नो कुरा राख्नु उपयुक्त हुँदैन। तेस्रो मिडिया अदालत होइन। तपाईंले यस्ता विषय लेखेर सम्बन्ध झन् बिगार्ने काम गर्नु हुन्छ। यो प्रक्रिया पूरा नहुँदै सार्वजनिक धारणा बन्ने गरी तपाईंहरूले लेख्न हुँदैन। प्रक्रिया पूरा नहुँदै तपाईंहरूले लेख्नुभयो भने तपाईंको विषयमा मैले अदालत जानुपर्ने हुन्छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖