• Wednesday 7th of October 2026

नेपालले पहिलो पटक तान्जानियासँग खेल्दै


  • धनकुटा खबर
  • .

नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिजमा बुधबार तान्जानियासँग खेल्दैछ । खेल बिहान ७ : १५ मा सुरु हुनेछ । हङकङले आयोजना गरेको सिरिजमा घरेलु टोलीसँगै नेपाल, मलेसिया, जापान र तान्जानिया छन् ।

नेपालले पहिलो पटक तान्जानियासँग खेल्दैछ । महिला टि२० आईमा तान्जानिया १९ औं र नेपाल २१ औं स्थानमा छन् । दुबै टोली पहिलो पटक खेल्न लागेको हुँदा एक अर्काको बारे खासै जानकार छैनन् ।

नेपालले यसै सिरिजबाट कप्तानी परिवर्तन गर्दैछ । तान्जानियाविरुद्ध इन्दु बर्माले कप्तानी गर्नेछिन् । रुविना खेलाडीको रुपमा खेल्नेछिन् । नेपालकी प्रमुख तीव्र गतिकी बलर कविता कुँवर टोलीमा छैनन् । एपेन्डिक्सको सल्यक्रियाको कारण उनी नहुँदा नेपालले एक खेलाडीलाई डेब्यू दिनेछ ।

नेपालको टोलीमा तीव्र गतिका बलरमा पहिलो पटक सोनी पाख्रिन र सोमु विष्टले स्थान बनाएका छन् । सोनीले डेब्यू गर्ने सम्भावना छ । बागमतीबाट घरेलु क्रिकेटमा उनले राम्रो गर्दै आएकी छिन् । ब्याटिङ पनि गर्ने हुँदा सोनीको सम्भावना छ । अश्मिना कर्माचार्य र ईश्वरी विष्टले निरन्तरता पाउनेछन् । अश्मिना प्रमुख बलर हुन् ।

नेपालका इन्दु बर्मा, सीता रानागमर र रुविना क्षेत्री प्रमुख हतियार हुन् । यी तीन खेलाडीको अलराउन्ड प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । सिरिज हुँदा हार वा जितले भने खासै फरक पर्ने छैन । टिम निर्माण गर्ने यो सबैभन्दा राम्रो समय पनि हो ।

तान्जानियाले पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएको छ । यसै वर्ष केन्या, युएई, कतार लगायतका टोलीलाई हराई सकेको छ । विश्व क्रिकेटमा उदीयमान तान्जानिया नेपालविरुद्ध पनि जित निकाल्न चाहन्छ ।

फतुमा किबासु नेपाललाई घातक बन्नसक्छिन् । उनले ३६ महिला टि२० आई खेलमा ३ शतक र ५ अर्धशतकसहित ११ सय ६० रन बनाएकी छिन् । कप्तान तथा ओपनर उनको प्रदर्शनले योगफल निर्धारण हुनसक्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖