काठमाडौं, ३० कात्तिक । जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली नेता एवं प्रमुख सचेतक प्रदीप यादवले टिकटक बन्द गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् ।‘टिकटकमा फेक आइडी बनाएर अर्काको भिडियो जोडेर चरित्रहत्या गर्ने, अरुको धर्म, संस्कृति, भेषभूषाको बदनाम गर्ने काम भएको थियो । टिकटक स्टार बन्ने लोभमा कलिलो उमेरका युवायुवती स्कुल–कलेज जानै छोडेका थिए । टिकटक बनाउने चक्करमा दिनभरि भौंतारिने गर्दा कतिपयको ज्यानै गयो । यो त पहिले नै बन्द गर्नुपर्ने अवस्था थियो । अलिकति ढिलो भयो । यो समयसापेक्ष, जायज र ऐतिहासिक निर्णयका निम्ति म प्रधानमन्त्री प्रचण्डलाई विशेष धन्यवाद दिन चाहन्छु,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
नेता यादवले टिकटक बन्द गर्ने निर्णयले टिकटकर नेताहरु विचलित भएको आरोप पनि लगाए । उनले भने, ‘जो सस्तो लोकप्रियता बेचेर रातारात नेता बन्नुभएको छ, उहाँहरु बेचैन हुनुहन्छ । आफ्नो राजनीतिक खुद्रा पसल बन्द होला भनेर चिन्तित हुनुहुन्छ । उहाँहरु टिकटक विशेषज्ञ हो ? टिकटकमै पढाइ गर्नुभएको हो ? जनतामा कुनै लगानी छैन । सरकारको यो निर्णय आम नागरिकको हितमा छ ।
यसले नागरिकलाई बचाएको छ ।’
टिकटकको माध्यमबाट नेपालीको गोपनीयता र लाखौं रुपियाँ चीनतिर गएको पनि उनले बताए । उनले भने, ‘भारत, पाकिस्तान, अमेरिका, बेलायतमा टिकटक किन बन्द भयो ? डाटा चोरी हुने र सुरक्षामा चुनौती दिने भएर न हो । यो प्रचण्ड सरकारको साहसिक निर्णय हो । सरकार यस्तो निर्णयबाट ब्याक हुनै सक्दैन । यो सोह्रै आना जायज छ । यसमा हामीले सरकारलाई साथ दिनुपर्छ ।’ टिकटक बन्द गर्ने सरकारको निर्णयमा पार्टी अध्यक्ष उपेन्द्र यादवको पनि समर्थन रहेको उनको दाबी छ ।
