• Wednesday 7th of October 2026

सचिनको खुट्टा ढोग्न विराट कोहलीलाई किन बाध्य बनाइएको थियो ?


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । विराट कोहलीले आफ्नो नाममा रहेको सर्वाधिक एक दिवशीय अन्तर्राष्ट्रिय शतकको कीर्तिमान तोडेपछि बुधवार सचिन तेन्दुलकरले तत्कालै सामाजिक सञ्जालमा स्टाटस लेखे । उनले कोहलीलाई भारतीय टोलीको ड्रेसिङ रुममा पहिलो पटक भेट हुँदाको सम्झना गरेका छन् ।

‘पहिलो पटक तिमीसँग भारतीय टोलीको ड्रेसिङ रुममा भेट हुँदा अन्य साथीहरूले प्राङ्क गरेर मेरो खुट्टा छुन लगाएका थिए । म त्यस दिन हाँस्नबाट आफूलाई रोक्न सकेको थिइन । तर तिमीले चाँडै आफ्नो इच्छाशक्ति र सीपका कारण मेरो मुटु छोयौ । मलाई निकै खुसी लागेको छ की त्यो युवा खेलाडी आज विराट खेलाडीका रूपमा विकाश भएको छ’, सचिनले लेखेका छन्।

एकदिवशीय विश्वकपको सेमिफाइनलमा बुधवार न्युजिल्यान्डविरुद्ध कोहलीले शतक पुरा गर्दै सचिनको कीर्तिमान तोडेका थिए। उनले एक दिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० औँ शतक बनाए ।

यसअघि जारी विश्वकपमै उनले सचिनको कीर्तिमान बराबरी गरेका थिए । भारतले न्युजिल्यान्डलाई ३ सय ९८ रनको लक्ष्य दिएपछि इनिङ्स ब्रेकमा कमेन्टेटरलाई सचिनलाई लाइभमा ल्याएका थिए। त्यसमा उनले कोहलीलाई ड्रेसिङ रुममा कसरी प्राङ्क गरिएको थियो भन्ने उल्लेख गरे ।

‘अरू खेलाडीले विराटलाई मेरो खुट्टा छुन बाध्य पारे, यो परम्परा हो भन्दै। उनीहरूले भनेका थिए— यसरी आशीर्वाद लिँदा तिम्रो करियर राम्रो हुन्छ । म निकै हाँसेको थिए’, सचिनले भने ।

कुनै समय सचिनलाई भारतमा क्रिकेटका भगवान् जसरी मानिन्थ्यो र त्यो अझै पनि कायम छ। अन्तर्राष्ट्रिय क्रिकेटमा उनले हात पारेका सफलतालाई भेट्न निकै गाह्रो हुने अनुमान गरिए पनि विराटले त्यसलाई गलत साबित गरेका छन् ।

कोहलीले २ सय ९१ एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा सचिनको कीर्तिमान तोडेका हुन् । जबकि सचिनले ४ सय ६३ खेलमा उक्त कीर्तिमान बनाएका थिए। सचिनले २४ वर्ष सिनियर अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए।

कोहलीले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको १५ वर्ष पूरा हुन लागेको छ। कोहली एकपछि अर्को सचिनका कीर्तिमान तोडिरहेका छन्। उनलाई सचिनभन्दा पनि उम्दा क्रिकेटरका रूपमा टिप्पणी हुन पनि थालेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖