• Friday 9th of October 2026

राजसंस्था र हिन्दुराष्ट्रका पक्षधरहरु एकतावद्ध भएर निर्णायक संघर्षमा जुट्न कमल थापाको आह्वान


  • धनकुटा खबर
  • .

काठमाडौं, २ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्रका पक्षधरहरुलाई एकतावद्ध भएर निर्णायक आन्दोलनमा जुट्न आह्वान गरेका छन् । २०६३ सालको कहालीलाग्दो अवस्थामा पनि राप्रपा नेपालले हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको एजेण्डा बोकेको स्मरण गराउँदै उनले राजसंस्था र हिन्दु राज्यको पक्षमा उभिएका विभिन्न दललाई मोर्चाबन्दी गरेर निर्णायक आन्दोलनामा होमिन आह्वान गरेका हुन् ।

राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको मुद्दालाई सत्ता प्राप्तिको भर्‍याङ वा निहित स्वार्थपूर्ति गर्ने माध्यम बनाउन नहुने उनको भनाई छ । उनले राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको मान्यता सबै नेपालीको साझा आदर्श बनाउन पर्ने बताएका छन् ।

अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्ः

२०६३ सालको कहालीलाग्दो अवस्थामा हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको एजेण्डा बोकेर हिड्ने एकमात्र दल राप्रपा नेपाल हो। संख्याको कमिले संविधानसभाबाट राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न नसकेता पनि जनताको अभिमतबाट हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना गर्न सक्ने संवैधानिक अधिकार सुनिश्चित गर्ने कामको श्रेय समेत राप्रपा नेपाललाई रहेको छ। यहि अधिकारको कारण राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा आवाज उठाउने र स्थापना गर्ने हक जनताले पाएका छन्।

अहिले विभिन्न दल, व्यक्ति र समुह राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा उभिएको र संघर्ष गर्न तयार भएको देख्दा हामीलाई खुसी र गौरवको अनुभूति हुन्छ। राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको निम्ति जोसुकै दल वा समुहबाट भएका र हुने प्रयास र कार्यमा राप्रपा नेपालको नैतिक समर्थन रहने छ।

विगतमा हामीबाट पनि केही कमजोरी र त्रुटि भएका छन्। विगतको अनुभवबाट पाठ सिकेर राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न चाहने सबै एउटै मोर्चामा आबद्ध भै निर्णायक संघर्षमा जुट्न राप्रपा नेपाल आह्वान गर्दछ। राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको मुद्दालाई सत्ता प्राप्तिको भर्‍याङ वा निहित स्वार्थपूर्ति गर्ने माध्यम बनाउनु हुँदैन। यो अभियानलाई कसैसँगको प्रतिशोध साध्ने, कुनै माग वा स्वार्थ पूरा नभएको झोक पोख्ने वा छुद्र अभिव्यक्ति दिने साधन बनाउनु हुँदैन। राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको अभियान कुनै दल व विचारको विरुद्ध केन्द्रित हुनु हुँदैन।

प्रजातन्त्र वा दलहरुको विकल्प राजसंस्था होईन। सबै राजनीतिक दल र विचार अटाउने व्यवस्था मात्र नेपाल र नेपालीको हितमा हुनेछ। राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको मान्यता सबै नेपालीको साझा आदर्श बनाउनु पर्दछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖