• Friday 9th of October 2026

पूर्वराजा ज्ञानेन्द्रको तस्विर सेयर गर्दै मिश्रको प्रश्न–अझै गाली नै गरेर बस्ने ?


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ मंसिर । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजावादीहरु एकजुट हुनुपर्ने बताएका छन् । मंसिर ७ गते काठमाडौंमा हुने दुर्गा प्रसाईंको कार्यक्रमलाई सफल बनाउनको लागि सबै एकजुट हुनुपर्ने मिश्रको अपिल छ ।

उनले एउटा राजसंस्थावादीले अर्को राजसंस्थावादीलाई गाली गरिरहेको आफूले देखेको र सुनेको उल्लेख गर्दै त्योभन्दा ठूलो विडम्वना के हुनसक्छ ? भन्दै प्रश्न पनि उठाएका छन् । उनले पञ्चायत ढाल्न, गणतन्त्र ल्याउन÷जोगाउन ‘कट्टर दुष्मन’हरू सहकार्य गर्न सक्ने, राजसंस्थावदीहरू नसक्ने ? भन्दै प्रश्न पनि उठाएका छन् ।

मिश्रले फेशबुकमा लेखेका छन्-

१. राजा ज्ञानेन्द्र मंसिर ९ गते झापा जाँदैछन् – झापाको कार्यक्रम आजसम्मकै भव्य होस्!
२. मंसिर ७ गते संवैधानिक राजसंस्था र हिन्दू राज्यको पक्षमा काठमाडौँमा विशाsssल प्रदर्शन हुँदैछ – त्यो प्रदर्शन आजसम्मकै भव्य बनोस्!
३. त्यस लगत्तै अन्य केही जिल्लामा राजाकै उपस्थितिमा कार्यक्रमहरू हुने प्रवल संभवना छ – ती कार्यक्रम पनि गज्जबकै होस्!
४. छिटै राप्रपाले तयारी सहित आन्दोलनको घोषणा गर्दैछ – त्यो आन्दोलन सफल होस्!

मेरो टिप्पणी:
यस्तो समयमा पनि एउटा राजसंस्थावादीले अर्को राजसंस्थावादीलाई गाली गरिरहेको देख्छु/सुन्छु। त्योभन्दा ठूलो विडम्वना के हुनसक्छ? हेर्नुहोस्, कसैको कारणले कसैको कार्यक्रम विग्रिँदैन। हामी हाम्रो उद्देश्यमा पुग्न सबैको कार्यक्रम सफल हुनुपर्छ।
पञ्चायत ढाल्न, गणतन्त्र ल्याउन/जोगाउन ‘कट्टर दुष्मन’हरू सहकार्य गर्न सक्ने, राजसंस्थावदीहरू नसक्ने? अनि झन त्यसमा पनि गाली गरेर बस्ने? यस्तै पाराले लक्ष्यमा पुगिन्छ?

“मैँ सबैभन्दा ठूलो राजसंस्थावादी, अरू त केही होइनन्” भनेर देखाउन खोजेको हो भने, भिन्दै कुरा। अन्यथा, “विनाशकारी अग्रगमन” को विशाल चट्टान फुटाउनु छ। आफैँ-आफैँ बाझेर आ-आफ्ना अहं पुरा होला तर उद्देश्य प्राप्ति हुँदैन।

त्यसैले: सकिन्छ, सहकार्य गरौँ। सकिँदैन, सहयोग गरौँ। सहयोग पनि गर्न मन नलागे असहयोग नगरौँ। र, सार्वजनिकरूपमा एकले अर्कोलाई हियाउने र “मचाहिँ असल, ऊचाहिँ कमसल” भन्ने काम नगरौँ।

हामी सबै मान्छे हौँ। कसैले फुर्ति लाउन पर्दैन। कमजोरी नभएका हामी कोही छैनौँ। हाम्रा देवताका त कमजोरी थिए। हाम्रो के कुरा? पेट चिर्यो भने सबैको पेटबाट गन्ध निस्किन्छ। अहिले एकले अर्कोको पेट चिर्ने बेला होइन।

यो विनाशकारी अग्रगमन बल्ल ढल्ने दिशामा जाँदैछ। ‘प्रचण्डपथगामी’हरू सबै आत्तिएको अवस्था छ। त्यसैले “भाइ फुटे, गाऊँ लुटे” को स्थिति गर्ने बेला होइन।

जसको विचार जेसुकै होस् तर राजा र राजनीतिक दल नमिलिकन नेपालको दिर्घकालीन हित हुनै सक्दैन। गल्ती राजा, राजनीतिक दल सबैले गरेका छन्। सबैले सबैलाई क्षमा दिऊँ – विगतबाट शिक्षा लिऊँ।

भविष्यमा पनि गल्तीहरू सबैले गर्नेछन्। गल्ती सुधार्दै जाने हो तर गल्ती भयो भन्दैमा एउटाले अर्कोलाई न्यूनिकरण गर्न खोज्ने हो भने देश अझ बस्नै अयोग्य भएर जानेछ। अनि आफूचाहिँ “मेरो त विचार महान्” भनुँ, छोराछोरी सबै विदेश पठाऊँ।

बुढेसकालमा सकिन्छ भने आफू पनि छोराछोरीकाँ जाऊँ, सकिँदैन भने, दुख पाएर एक्लो जिन्दगी बिताऊँ! सबैलाई समयमैँ चेतना पलाओस्। देशलाई ट्र्याकमा ल्याउने #नवीनसमझदारी बाहेक अर्को विकल्प छैन। #विचारभन्दामाथिदेश, #NationAboveNotion

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖