• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

एआइजी ज्ञवालीको जन्ममिति सात दिनभित्र उपलब्ध गराउन माग


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीको जन्ममिति कागजात माग गरेको छ। समितिको बैठक नबसे पनि सभापतिले उजुरी परेको विषय भएको र तत्काल बैठक बस्न सक्ने अवस्था नभएको जनाउँदै समिति सचिवालयलाई पत्र पठाउन लगाएका छन्।

समितिले गृह मन्त्रालयसँग ज्ञवालीको जन्ममिति कागजात सात दिनभित्र पठाउन माग गरेको छ। ‘जन्ममिति फरक परेको विवादमा के भएको हो, किन छानबिन नभएको हो, सत्यतथ्य सबै विवरण उपलब्ध गराउन अनुरोध छ,’ समितिले शुक्रबार गृहलाई गरेको पत्राचारमा भनिएको छ।

समिति सभापति रामहरि खतिवडाले गृह मन्त्रालयबाट जन्ममिति विवादबारे फाइलसहितको विवरण प्राप्त भएपछि मात्र समिति बैठक बोलाउने र छानबिन प्रक्रिया अघि बढाउने तयारी गरेका छन्। ‘संसदीय प्रक्रियामा समितिको निर्णयपछि मात्रै कागजात मगाउने गरिन्छ,’ समितिका एक सदस्यले भने, ‘समितिको बैठक कात्तिक १५ गतेपछि बसेको छैन, समिति नबसिकन गरिएका निर्णयहरू समितिका निर्णय भन्न मिल्दैन। तर, उजुरी आएको विषयमा सभापतिको तोक आदेशमा कागजात मगाए पनि छानबिनको विषयमा अन्तिम निर्णय त समितिले नै गर्नुपर्छ।’

‘एआइजी ज्ञवालीको जन्ममितिसम्बन्धी उजुरी समितिमा आएको थियो, त्यसबारे सत्यतथ्य के हो भनेर गृहलाई चिठी लेख्ने काम भएको छ। बाँकी काम समितिले नै गर्ला,’ उनले भने।

एआइजी ज्ञवालीले जन्ममिति फरक पारेर प्रहरी सेवामा प्रवेश गरेको आरोप सहित समितिमा उजुरी परेको थियो। ज्ञवालीको जन्ममिति विवादबारे सर्वोच्च अदालतमा पनि रिट परेको थियो।

उक्त रिट सर्वोच्चले दरपीठ गरिदिएको थियो। पटक नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, निजामती कर्मचारीमा बेलाबेला उमेरका विवाद आउने गरेको छ। ज्ञवालीविरुद्ध यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उमेर विवादकै उजुरी परेकोमा सफाइ पाएका थिए।

आयोगले गत वैशाखमा नागरिकता र शैक्षिक प्रमाणपत्रमा कुनै कैफियत नदेखिएको ठहर गर्दै उजुरी तामेलीमा पठाएको थियो।-नागरिक न्यूज

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖