• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

माइतीघर–बानेश्वरमा एक महिना आन्दोलन निषेध


  • धनकुटा खबर
  • .

एकभन्दा धेरै समूहले एकै समयमा र ठाउँमा कार्यक्रम गर्दा हुलदंगा तथा भिडन्त भई शान्तिसुरक्षामा असर पर्न सक्ने भएकाले निषेधित क्षेत्र तोकिएको जिल्ला प्रशासनको भनाइ

सम्भावित तनावलाई मध्यनजर गर्दै विरोधकर्ता तथा आन्दोलनकारीको प्रमुख केन्द्र बनेको माइतीघरलाई एक महिनाका लागि आन्दोलन निषेध गरिएको छ । जिल्ला सुरक्षा समितिको सिफारिसमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले माइतीघर–नयाँ बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेका हुन् । सूचनाअनुसार पद्मोदय मोड, सर्वाेच्च अदालतको पश्चिम गेट, माइतीघर, बबरमहल, बिजुलीबजार तथा नयाँ बानेश्वर चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जसअनुसार सोमबारदेखि ३० दिनसम्म आन्दोलन तथा विरोध प्रदर्शनमा रोक लगाइएको छ ।

आगामी ७ मंसिरमा एकै दिन दुई समूहबीच हुन लागेको विरोध कार्यक्रमलाई लक्षित गरी जिल्ला प्रशासनले यस्तो निर्णय गरेको हो । ७ मंसिरमा एमालेका युवा–विद्यार्थी तथा व्यवसायी दुर्गा प्रसाईंले छुट्टाछुट्टै विरोध प्रदर्शन गर्न लागेका छन् । दुवैले माइतीघर क्षेत्रलाई केन्द्रित गरी विरोध प्रदर्शन गर्न लागेपछि निषेधित क्षेत्र तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

एकभन्दा धेरै समूहले एकै समयमा एकै ठाउँमा कार्यक्रम गर्दा हुलदंगा तथा भिडन्त भई शान्तिसुरक्षामा असर पर्न सक्ने भएकाले शान्तिसुरक्षाका कारण निषेधित क्षेत्र तोकिएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सूचनामा उल्लेख छ । जिल्ला प्रशासनको निर्णयपछि एमालेका युवा–विद्यार्थीले भने तिनकुने क्षेत्रमा कार्यक्रम गर्न लागेका छन् । दुर्गा प्रसाईंको समूहले भने रत्नपार्क क्षेत्रमा कार्यक्रम गर्नेबारे प्रशासनसँग छलफल गरिरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖