काठमाडौं । प्रहरीले व्यवसायी नवीन बस्नेतलाई १३ वर्षअघिको रक्तचन्दन तस्करीसम्बन्धी मुद्दामा पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार राति काठमाडौंको पेप्सीकोलास्थित उनको घरबाट बस्नेतलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।
दोलखा घर भएका बस्नेत हाल ठेक्कापट्टासम्बन्धी व्यवसायमा संलग्न छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिलीप घिमिरेका अनुसार ठेगाना नखुलेका कारण लामो समयदेखि विचाराधीन अवस्थामा रहेका रक्तचन्दन तस्करीसम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको हो।
यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बस्नेतसहित पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका भाइ प्रभुशमशेर जबरा, नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा छापा मारेको थियो। बस्नेतलाई चोलेन्द्रशमशेर जबराको निकटस्थ व्यक्तिका रूपमा समेत चिनिन्छ।
व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसम्बन्धी मुद्दा मिलाउन झापाका इनम सापकोटामार्फत चलखेल गरेको आरोपमा प्रहरीले जबरालाई पक्राउ गरेर पछि छाडेको थियो। इनम सापकोटाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।
बस्नेतमाथि रक्तचन्दन तस्करीसम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
