• Thursday 8th of October 2026

केपी ओली कप टी-२० क्रिकेटमा १२ टिम


  • धनकुटा खबर
  • .

पोखरामा मंसिर ७ गतेबाट सुरु हुने प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ।

आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले तयारी पूरा भएको जनाएको हो। प्रतियोगिताको उद्घाटन ऐकडेमीका संरक्षक एवं परिकल्पनाकार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजनाले जानकारी दिएको छ।
मङ्सिर १५ गते सम्म पोखरा रंगशालमा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशका सात टिम, ३ विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लव, सशस्त्र प्रहरीको एपीएफ क्लब तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको २ टिम गरी १२ टिमको सहभागिता रहने छ।

समूह ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, समूह ‘बि’ मा एपिएफ, लुम्बिनी र गण्डकी, समूह ‘सि’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम तथा समूह ‘डि’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो एक आपसमा भिड्नेछन्।

उपाधि विजेताले पुरस्कार नगद रु ५ लाख, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद रु २ लाख पचास हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। म्यान अफ द सिरिजले नगद ३० हजार रूपैयाँ, बेस्ट व्यटार र बलरले जनही नगद २०÷२० हजार रूपैयाँ र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ प्राप्त गर्नेछन्। खेल सम्पन्न गर्नको लागि करिब ७७ लाख खर्च लाग्ने अनुमान गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए।

एकेडेमीले अनुसाशित, राष्ट्रप्रेमी, मेहनती र प्रतिस्पर्धी नागरिक उत्पादन गर्न बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल प्रशिक्षण, खेल गतिविधि र प्रतिस्पर्धाहरु आयोजना गरिरहेको जानकारी दिंदै अध्यक्ष आचार्यले यस प्रतियोगिताले खेल पर्यटनमार्फत यस क्षेत्रको खेल विकास संगै आर्थिक समृद्धिका लागि समेत महत्वपूर्ण हुने उल्लेख गरे।

पत्रकार सम्मेलनमा एकेडेमीका उपाध्यक्ष राजेशकुमार गुरुङ, उपमहासचिव सूवर्ण श्रेष्ठ, एकेडेमीअन्तर्गत गठित क्रिकेट विभाग प्रमुख एवं पूर्व क्रिकेटर शक्ति गौचनले समेत आफ्ना भनाई राख्दै प्रतियोगितालाई सफल बनाउन सबै संग आग्रह गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖