• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ओलीले भने– आन्दोलनको आवश्यकता महसुस भएको छ


  • धनकुटा खबर
  • .

६ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानपछि आन्दोलन गर्नुपर्ने आवश्यकता महसुस भएको बताएका छन् ।

देश संकटमा परेकाले देश बचाउन शान्तिपूर्ण आन्दोलनको आवश्यकता आफूले देखेको उनको भनाइ छ ।
पार्टी केन्द्रीय कमिटीको बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘अभियानपछि आन्दोलनकारी ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता देखिरहेको छु ।’

यही मंसिर १४ गतेदेखि दार्चुलाको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर एमालेले अभियान सुरु गर्दैछ ।

आन्दोलनका केही सर्त रहेको भन्दै ओलीले भने, ‘हामी हिंसाको बाटो हिँड्दैनौं । शान्तिको बाटोबाट, जनपरिचालनको बाटोबाट हिँड्छौं । जनताको बल प्रयोग गर्ने भनेका छौं, हिंसाको बाटोबाट होइन ।’

त्यसपछि लिडरसिपको विभिन्न तहमा छलफल गर्ने एउटा सही र सर्वसम्मत निष्कर्षका साथ मैदानमा उत्रिने ओलीले बताए ।

देशलाई निकास दिने बाटो एमालेले नसमातेमा अरुले त्यो रिक्ततालाई पूरा गर्ने बताउँदै ओलीले भने, ‘हेर्दाहेर्दै कसैका खल्तीबाट भुर्र परेवा उडाउन सक्छ है । जादू गर्दिए जस्तो गर्न सक्छ, चटक गर्दिएजस्तो गर्न सक्छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖