• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ठाउँ तोकेर, समय तोकेर युवासंघ तयार छ भिड्नलाई


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र काम लाग्दैन भनेर नै नेपाली जनताले फालेको बताएका छन् ।

शुक्रबार एमाले पार्टी कार्यालय च्यासलमा राष्ट्रिय युवा संघको दोस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजतन्त्र काम लाग्दैन भनेर नेपाली जनताले १७ वर्षअघि नै फालेकाले त्यो पुन फर्किन्छ भनेर मुर्खहरुले मात्रै भन्दै आएको बताएका हुन् ।

यो देशमा २० सम्म एउटा बाटो नबन्नुको कारण के भनेर प्रश्न गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले २४० वर्ष राजतन्त्र हुँदा विकास हुनै नसक्नुको कारण खोज्नुपर्ने बताए ।

ओलीले एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्नेहरुमा चेतना नभएको भन्दै राजतन्त्र भन्नेहरु मूर्ख भएको टिप्पणी गरे । राजाहरुभन्दा राणाहरुले बरु दास प्रथा उन्मुलन गरेको भन्दै उनले मरेका प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही मानिसहरु लागेको बताए ।

ओलीले दुर्गा प्रसाईंले बल्खुमा पाँच सात हजार मान्छे ल्याउँदा सरकार थर्कमान भएको टिप्पणी पनि गरे ।

‘हिजो बल्खुमा भोलि उठी कहाँ जाने थाहा छैन भन्ने खालका । कहाँ हिँड्या हुन् थाहा छैन । केका लागि हिँड्या थाहा छैन । के माग हो ? के नारा हो ? थाहा छैन । हाहाहुहु गर्न जान पाइन्छ भनेपछि हेर्न आए’, उनले भने, ‘यो सरकार त्यतिकैमा थर्कमान छ ।’

उनले जनतामा निराशा बढ्न खतरानाक भएको भन्दै अहिले अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा हुँदा व्यवसायीहरुले सरकारको साथ पाउन नसकेको बताए ।

अध्यक्ष ओलीले बिहीबार युवासंघले गणतन्त्रमाथि प्रहार गर्नेविरुद्ध गरेको प्रतिकारको सरहना गर्दै प्रतिक्रियावादीहरुले कहाँ भेट्ने भन्छन् सोही ठाउँमा भिडन्तका लागि तयार रहनुपर्ने बताए ।

‘जतिसुकै बेला परिवर्तनका लागि विशाल आन्दोलन गर्नुपर्ने हुनसक्दछ । त्यसका लागि युवासंघ तयार हुनुपर्छ’, उनले भने, ‘त्यसकारण युवासंघ र युथफोर्सले आफूलाई तयार राख्नुपर्छ । रुन्चे कुरा गर्नुहुँदैन । बक्सिङ खेल्ने भनेको थियो खुट्टाले राउन्ड किक हानेर बंगारा झारिदियो भन्ने होइन । ठाउँ तोकेर, समय तोकेर युवासंघ तयार छ भिड्नलाई ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖