• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

२२ वर्षपछि खेतमा धान फल्यो, मन्त्रीलाई न्वागी खुवाइयो….


  • धनकुटा खबर
  • .

दाङ । प्युठान सरुमाराणी गाउँपालिका वडा नं. २ को विरेबगर कुलोलाई २२ वर्ष अघि गनाहा खोलाले बगायो । त्यसपछि त्यहाँको करिब डेढ सय रोपनी जग्गामा कुनै पनि खेती भएन ।

२२ वर्षदेखि त्यहाँको खेत बाँझो रहेको थियो । तर, त्यहाँ लुम्बिनी प्रदेश सरकारले कुलो निर्माण गरेपछि धान उत्पादन सुरु भएको छ । यो वर्षदेखि धान उत्पादन सुरु भएपछि किसानहरू खुसी भएका छन् । ‘२२ वर्षदेखि हामीले धान उत्पादन गर्न पाएका थिएनौँ,’ स्थानीय चिन्त लोहारले भने, ‘अहिले कुलो निर्माण भएपछि पहिलो धान उत्पादन गरेका छौँ ।’

लुम्बिनी प्रदेश सरकारको ४५ लाख लगानीमा त्यहाँ सिँचाइ कुलो निर्माण भएको हो । कुलो बनेपछि त्यहाँका किसानले उत्पादन गरेको पहिलो धानको न्वागी लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीलाई खुवाएका छन् । ‘हामीले पहिलो पटक धान उत्पादन भएपछि मन्त्रीलाई नै न्वागी खुवाएका छौँ,’ स्थानीय सन्तोष कुमार विकले भने, ‘हामीले उत्पादन थालेपछि कृषिमा आत्मनिर्भर हुने प्रयास गर्दैछौँ ।’

त्यहाँ करिब डेढ सय घरधुरी सोही कुलोमा निर्भर थिए । गिरे बगर, उपल्लो बुढीगरा खेत, गनाहा तल्लो फाँटका स्थानीयहरू त्यो कुलोबाट लाभान्वित भएको स्थानीय नेत्र खनालले बताए । सिँचाइ भएपछि यस वर्ष त्यहाँका प्रत्येक किसानले ५० मुरी जति धान उत्पादन गरेका छन् । अहिले हिउँदे खेती पनि गरिरहेका छन् ।

यस वर्ष पनि सोही कुलोलाई १० लाख रुपैयाँ बजेट परेको लुम्बिनी प्रदेशका अर्थमन्त्री मास्कीले बताए । ‘किसानलाई प्रोत्साहन गर्ने नै हाम्रो नीति हो,’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖