• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

त्रिविले हटायो स्नातकोत्तर टपरलाई दिने तीन तोला सुन जडित कुलपति पदक


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ‘कुलपति पदक’ अबदेखि नदिने भएको छ । त्रिविले स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रदान गर्दै आएको सो पदक नदिने भएको हो ।

विश्वविद्यालयमा मूल्यांकनको आधार ग्रेडिङ प्रणालीअनुसार हुने भएकाले सबै संकायमध्ये उत्कृष्ट विद्यार्थीलाई दिइने मेडल कटौती गर्न लागिएको परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्प जोशीले जानकारी दिए । ‘सबै संकायमध्येबाट स्नातकोत्तर तहमा उत्कृष्ट हुनेलाई दिइने पदक हटाउँछौँ,’ उनले भने, ‘ग्रेडिङ प्रणालीका कारण यो हटाउनुपरेको हो, यो प्रणालीले कुन विद्यार्थी टपर हो भनेर छुट्याउन गाह्रो भयो ।’

कुलपति पदकमा तीन तोला सुन राखिएको हुन्छ । ०१६ देखि गत वर्ष अर्थात् ४८औँ दीक्षान्त समारोहसम्म सो पदक वितरण गरिएको थियो । आगामी २ पुसमा हुने ४९औँ दीक्षान्त समारोहबाट यो पदक रोकिनेछ । तर, स्नातक तह र अन्य विभाग टपरहरूलाई दिने पदक तथा पुरस्कार भने कटौती गरिएको छैन ।

परीक्षा नियन्त्रक जोशीकाअनुसार स्नातक तहमा अध्ययन गर्नेमध्ये एकजना उत्कृष्ट विद्यार्थीलाई एक तोला सुन जडित उपकुलपति पदक प्रदान गरिनेछ । विषयगत विभागअन्तर्गत २७ वटा मेडल वितरण गरिन्छ । यी मेडलमा विभाग टपरलाई १० आनासम्म सुनजडित पदक दिइन्छ ।

यसपटकको दीक्षान्त समारोहमा ७४ हजार विद्यार्थी दीक्षित हुँदै छन् । फाराम भर्ने संख्या भने १२ हजार पाँच सय मात्रै छन् । दशरथ रंगशाला त्रिपुरेश्वरमा हुने दीक्षान्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖