• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित सिन्धुलीका तीन माओवादी नेतामाथि कारबाही सिफारिस


  • धनकुटा खबर
  • .

सिन्धुली । पार्टीको औपचारिक कार्यक्रममा अमर्यादित र अराजक हर्कत देखाएको भन्दै नेकपा माओवादी केन्द्र मरिण गाउँपालिका कमिटीले जिल्लाका दुई प्रभावशाली नेतामाथि कारबाहीको सिफारिस गरेको छ ।

कमिटी अध्यक्ष काजीमान थिङको अध्यक्षमा बसेको बैठकले सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहाल र गोलन्जोर गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने पुकार तथा प्रदेश कमिटी सदस्य घनश्याम बस्नेतमाथि कारबाही गर्न सर्वसम्मत निर्णयसहित प्रदेश कमिटीमा सिफारिस गरेको हो ।

दीपा बोहोरा माओवादीका बाहुबली सांसद राजन दाहालकी पत्नी हुन् भने ज्वाला पनि राजन गुटका बफादार नेता हुन् । दुवै जनाले सार्वजनिक रुपमा माफी नमागेसम्म मरिण प्रवेश गर्न नदिनेसमेत निर्णय भएको एक सदस्यले बताए ।

गत कात्तिक तेस्रो साता मरिण गाउँपालिका कमिटीले आयोजना गरेको बृहत सांस्कृतिक कार्यक्रममा पुगेका यी नेताले जिल्ला इन्चार्ज महेश्वर दाहाललाई प्रमुख अतिथि बनाएको विरोधमा अराजक हर्कत देखाएको र दीपा मञ्चबाटै फूल गुच्छा फालेर कार्यक्रमस्थलबाट हिँडेकी थिइन् ।

महेश्वर दाहाललाई प्रमुख अतिथि नबनाउन गरिएको राजन दाहालको प्रयास असफल भएपछि दीपा र ज्वालाको टोलीले कार्यक्रम भाँड्न खोजेको आरोप लगाइएको छ । यद्यपि उनीहरु कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।

कार्यक्रम भाँड्न राजन पक्षले गाउँ-गाउँ गएर कार्यक्रममा नजान उर्दी नै लगाएको थियो । कार्यक्रम हुने नै भएपछि कार्यक्रमका प्रमुख अतिथि बनेका महेश्वर दाहाललाई कुट्ने, कालो मोसो दल्ने तयारीसहित राजनकी श्रीमती दीपा र जिल्ला सचिव ज्वाला न्यौपाने पुकारको समूह त्यहाँ पुगेको थियो ।

सोही घटनालाई लिएर गाउँपालिका कमिटीले तीन जनामाथि कारबाही गर्न सिफारिस गरेको छ । यसअघि राजन दाहालमाथि समेत कारबाही गर्न पेरिसडाँडामा उजुरी परेको थियो ।

अध्यक्ष प्रचण्ड र हरिबोल गजुरेललगायतका नेताहरुको सल्लाहमै सिन्धुलीको पार्टी बिग्रन नदिन राजनलाई काठमाडौंको तारकेश्वर नगरपालिका इन्चार्जमा सरुवा गरी सिन्धुली इन्चार्जमा महेश्वरलाई पठाइएको स्रोतले जनाएको छ ।

प्रचण्डभन्दा सिनियर र समकक्षी नेताहरु ईश्वरी दाहाल (असारे काका),सीपी गजुरेल,हरिबोल गजुरेललगायतका नेताहरुले निर्माण गरेको सिन्धुलीको माओवादी संगठन राजन दाहालले बिध्वंश गरेर अराजनीतिक डफ्फामा परिणत गर्न थालेपछि उनलाई सिन्धुलीको जिम्मेवारीबाट मुक्त गरिएको माओवादी स्रोतको दावी छ ।

सिन्धुलीमा यसअघि सबैलाई ठेगान लगाएका राजन दाहालमाथि महेश्वर दाहाल भारी पर्न थालेपछि उनले समानान्तर गतिविधिहरु गर्न थालेका छन् ।

पार्टीको आधिकारिक कार्यक्रम सकिएपछि सोही ठाउँमा त्यस्तै कार्यक्रम गर्दै उनले आफ्नो उपस्थिति देखाउँन खोजेको नेताहरु बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖