• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

धितो भएका ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने


  • धनकुटा खबर
  • .

काठमाडौँ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी र असुलीसम्बन्धी नयाँ व्यवस्था गरेको छ । बुधवार एक निर्देशन जारी गर्दै केन्द्रीय बैंकले अब कर्जा लगानीकर्ता ऋणीको धितो हुँदासम्म कालो सूचीमा राख्न नपाइने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०८० परिमार्जन गर्दै भनेको छ, ‘जमानतदातालाई कालोसूचीमा समावेश गर्नु पूर्व ऋणीले सुरक्षण स्वरूप राखेको धितो लिलाम गरी असुली गर्नुपर्नेछ । यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको लेना रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानत दातालाई ९० दिनको समय प्रदान गर्नुपर्नेछ ।

सो सूचना अवधिपश्चात मात्र जमानत दातालाई कालोसूचीमा समावेश गर्नुपर्नेछ’ केन्द्रीय बैंकले निर्देशनमा भनेको छ । सबै प्रक्रिया पुर्‍याएर केन्द्रीय बैंकको समेत निर्देशनमा कालो सूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता (कल खाता समेत) खोल्न पाउने छैनन् ।

तर कानुन बमोजिम सामाजिक सुरक्षा भत्ता एवम् पेन्सन रकम प्राप्त गर्ने प्रयोजनको लागि भने खाता खोल्न यस व्यवस्थाले बाधा नपुर्याउने केन्द्रीय बैँकले जनाएको छ ।

यसैगरी पहिले नै कालो सूचिमा परेको कुनै कम्पनी वा फर्मसँग अर्को कुनै कालो सूचीमा समावेश नभएको फर्म कम्पनीले ज्वाइन्ट भेन्चर (जेभी) मा रहेमा त्यस्तो कम्पनीको खाता सञ्चालन गर्न तथा कर्जा कारोबार गर्न बाधा नपर्ने समेत केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖