• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

देउवाले प्रचण्डको काँध थापिरहने, सरकारको विकल्पबारे नसोच्ने


  • धनकुटा खबर
  • .

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारको विकल्प खोज्न नहुने अडान लिएका छन् । पार्टीकै जिम्मेवार नेताहरुबाट सरकारको विकल्प खोज्नुपर्ने धारणा आईरहेको बेलामा सभापति देउवाले भने अहिले सरकारको विकल्पबारे सोच्नै नसकिने अडान लिएका छन्।

महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले सरकारको कामकारबाहीलाई लिएर प्रश्न उठाईरहेको बेलामा र शेखर कोइरालाले अब कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिएको बेलामा सभापति देउवा भने उनीहरुभन्दा ठीक विपरित उभिएका छन्। देउवाले अहिले प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोजे कांग्रेसले ठूलो घाटा व्यहोर्नुपर्ने निश्कर्ष निकालेका छन् ।

बरु, सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा मन्त्रिपरिषद् पूनर्गठन गर्न सकिने उनको सुझाव छ । त्यो पनि प्रधानमन्त्री प्रचण्डले चाहेमा आफ्नो अवरोध नहुने उनको निश्कर्ष छ । प्रचण्ड र देउवाबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति छ । प्रचण्डलगत्तै सरकारको नेतृत्व आफूले गर्ने भएकोले उनले अहिले प्रचण्डलाई चिढ्याउन नचाहेको कांग्रेसकै नेताहरुको बुझाई छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो विश्वासिला नेता बालकृष्ण खाँणलाई पक्राउ गरिएकोमा भने देउवा प्रधानमन्त्री दाहालसँग रुष्ट थिए । तर, उनीहरुबीच धेरै पटकको भेटवार्तापछि सम्बन्धमा सुधार देखिएको छ । सभापति देउवाले खाँण निर्दोष सावित हुने र छिट्टै छुट्ने अभिव्यक्ति दिएका छन् । कांग्रेसले आगामी पुष १६ गते महासमिति बैठक बोलाएको छ । त्यसको एजेण्डाबारे छलफल गर्न आज पदाधिकारी बैठक बसेको छ।

पदाधिकारी बैठकमा सरकारको विकल्प खोज्नेबारे पनि कुरा उठ्ने थाहा पाएपछि देउवाले बैठक सुरु हुनुअघि नै सरकारको विकल्प खोज्नेबारे अहिले सोच्नै नहुने धारणा राखेको उच्च स्रोतको दाबी छ । उनले आफूलाई एमालेले सरकारको नेतृत्व लिन आग्रह गरेपनि प्रचण्डलाई धोका दिन नसकिने अडान सुनाउने गरेका छन् ।

कोशी प्रदेशमा शेखर कोइराला समूहले विद्रोह गरेपछि एमाले नेतृत्व पँक्तिबाट केन्द्रमा पनि एमाले–कांग्रेसको सरकार बनाउनको लागि प्रस्ताव आएको र आफूले अस्विकार गरेको उनको ब्रिफिङ हुने गरेको छ । वर्तमान सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्नेमा आफ्नो पनि त्यही मत रहेको देउवाको भनाई छ ।

उनले आफ्नै दलबाट सरकारमा प्रतिनिधित्व धेरै रहेपनि उनीहरुले पनि राम्रो काम गरेर देखाउन नसकेको निश्कर्ष निकालेका छन् । बरु, उनीहरुलाई पनि प्रभावकारी ढंगले काम गर्नको लागि निर्देशन दिने र प्रधानमन्त्री प्रचण्डलाई सहमतिअनुसार ढुक्कले सरकार चलाउने वातावरण बनाउन लागिपर्ने उनको तयारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖