• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज आदेश आउन सक्ने


  • धनकुटा खबर
  • .

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश विरूद्ध परेका निवेदनमा आज आदेश आउने सम्भावना छ।

काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरूद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ बिहीबार न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा सकिएको थियो।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले उक्त मुद्दामा शुक्रबार आदेश हुनसक्ने जानकारी दिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो। जसमध्ये १७ जनालाई पुर्पक्षका लागि थुनामा र तीन जनालाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो।

थुनामा रहेका बालकृष्ण खाण र टोपबहादुर रायमाझिसहित १५ जना जिल्ला अदालतको निर्णयविरूद्ध उच्च अदालत पुगेका थिए। भुटानी शरणार्थी नेता टेकनाथ रिजाल भने उच्च अदालत गएका छैनन्।
ठगी, कीर्ते, संगठित अपराध र राज्य विरूद्धको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो। जसमा १० जना फरार छन्।

यस प्रकरणमा नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हरिभक्त महर्जन र आशिष बुढाथोकी पुर्पक्षका लागि थुनामा छन्।

अदालतले टंक गुरूङलाई १० लाख, लक्ष्मी महर्जनलाई ५ लाख र केशव तुलाधरसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको थियो।

यो प्रकरणमा ३० जनाविरूद्ध ०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖