• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रसाइँबाट ओलीको हातमा कसरी पुग्यो ‘८ करोड’को ल्याण्डक्रुजर ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र मेडिकल व्यवसायी दुर्गा प्रसाइँबीचको सम्बन्धलाई लिएर बेला–बेला सामाजिक सञ्जाल तथा सञ्चार माध्यम तात्ने गर्दछ । दुईबीच पछिल्लो समय सतहमा देखिएअनुसार सम्बन्ध राम्रो छैन । सार्वजनिकरुपमै ओलीले प्रसाइँको उछितो काढिरहेको देखिन्छ भने प्रसाइँले पनि ओलीको ।

पछिल्लो समय केन्द्रीय राजधानी काठमाडौंलाई केन्द्रीत बनाएर सडक प्रदर्शनमा जुट्दा प्रसाइँका निम्ति सबैभन्दा ठूलो बाधक ओली नै बनेका थिए । ओलीकै निर्देशनमा एमालेको सिंगो पंक्ति प्रसाइँविरुद्ध सडकमा ओर्लिएको थियो । मंसिर ७ मा प्रसाइँ समूहले बल्खुमा प्रदर्शन गरिरहँदा एमालेले तीनकुने क्षेत्रमा प्रदर्शन गरेको थियो ।

त्यसयता दुवैका सडक प्रदर्शन रोकिएका छन् । प्रसाइँ समूहले प्रदर्शनलाई निरन्तरता दिने तयारी गरेपनि सफल हुन सकेन । योबीचमा प्रसाइँ समूहको प्रदर्शनलाई निस्तेज पार्न सरकारले उच्च तहमै बल प्रयोग गरेको देखियो ।

कतिपयले सरकारले गरेको बल प्रयोगमा ओलीको हात रहेको भनि टिप्पणी गर्ने गर्दछन् । प्रसाइँले पनि सार्वजनिकरुपमै आफ्नो अभियानलाई निस्तेज पार्न सिंगो एमाले लागेको बताउने गरेका छन् ।

प्रदर्शनका कार्यक्रम रोकिएपनि ओली र प्रसाइँबीचको ‘वाक युद्ध’ भने चलिरहेको छ । विभिन्न सार्वजनिक मञ्चको प्रयोग गरी एकले अर्कोको उछितो काढिरहेको देखिन्छ ।

सामाजिक सञ्जाल तथा सञ्चार माध्यम ओली र प्रसाइँका विषयले रंगीरहँदा पछिल्लो समय प्रसाइँले चढ्ने गरेको ल्याण्डक्रुजर गाडी ओलीले चढ्न थालेको विषयले चर्चा पाएको छ । विगतमा प्रसाइँको स्वामित्वमा रहेको गाडीमा एकाएक ओली सवार हुन थालेपछि सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चा पाएको हो ।

एमालेले बिहीबारदेखि सुरु गरेको ‘मध्यपहाडी लोकमार्ग अभियान’मा ओलीलाई सवार गराउन उक्त गाडीको प्रयोग गरिएको छ ।

नेतालाई सयर गराउन गाडी खरिद
प्रसाइँ दुई वर्षअघि २०७८ कात्तिक ७ मा ठूलै तामझामका साथ एमाले प्रवेश गरेका थिए । एमाले प्रवेश गर्ने कार्यक्रममा पहिलो पटक उनले उक्त गाडी ओलीलाई सवार गराउन प्रयोग गरेका थिए । प्रदेश ३–०१–२४ च र १०१ नम्बरको गाडी लिएर उनी ओलीलाई स्वागत भद्रपुर विमानस्थल पुगेका थिए ।

त्यसयता ओलीले बेला–बेला उक्त गाडीमार्फत सयर गर्ने गरेका थिए । “८ करोडको गाडी, वन पिस गाडी मैंले मात्रै चढ्छु, अहिले अध्यक्ष ओलीज्यूलाई चढ्नलाई दिएको हुँ”, गाडीबारे त्यतिबेला प्रसाइँले भनेका थिए ।

बताइएअनुसार उक्त गाडी प्रसाइँले नेताहरुलाई सयर गराउन किनेका थिए । ओलीअघि उनले उक्त गाडीमा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि बेला–बेलामा सयर गराएको जानकार बताउँछन् ।

अमित लामा हुँदै ओलीको हातमा गाडी
टोयोटा कम्पनीको ल्याण्डक्रुजर भि ८ गाडी प्रसाइँबाट एमालेनिकट युवा संघका उपाध्यक्ष अमित लामा हुँदै ओलीको हातमा पुगेको हो । प्रसाइँ र लामाबीच लेनदेन विवादपछि प्रसाइँको हातबाट लामाले गाडी लगेका थिए ।

“झापामा बन्दै गरेको होटलमा पार्टनर बस्न भनी अमितले दुई करोड दिएका थिए, अमितले होटलको १० प्रतिशत शेयर लिन्छु भनेका थिए, जसको लागि उनले १० करोड हाल्नुपथ्र्यो तर, उनले पैसा थप्न सकेनन्”, गाडीको किनबेचबारे प्रसाइँले भनेका छन्, “उनले पछि ब्याजसहित पैसा फिर्ता मागे, मैंले दुई करोड नगद र गाडी दिएँ।”

लेनदेनमा मिटरब्याजको शैलीमा आफूले भूक्तानी गरेको प्रसाइँको भनाई छ । जानकारका अनुसार अमितले धम्की दिएपछि प्रसाइँले गाडी नामसारी गराएका थिए ।

प्रसाइँले ८ करोड रुपैयाँको गाडी भनेपनि टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा।लि।का अनुसार उक्त गाडीको मूल्य नेपाली बजारमा २ करोड ८० लाखदेखि ४ करोड ८ लाखसम्म पर्ने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖