• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

चन्द्र भण्डारीलाई मञ्चबाटै देउवाको जवाफ- तपाईँले भाषण धेरै गर्नुभयो, अब काम गरेर देखाउनुस्


  • धनकुटा खबर
  • .

रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको पार्टी सभापति शेरबहादुर देउवाप्रति गत निर्वाचनमा उम्मेदवार छनौटका विषयमा पार्टी सभापतिले गरेको गल्तीबारे उठाएको प्रश्नको जवाफ मञ्चबाटै देउवाले फर्काएका छन् ।

बुटवलमा सुरु भएको लुम्बिनी प्रदेश सम्मेलनमा कांग्रेस नेता भण्डारीले गत निर्वाचनमा पार्टी सभापति र नेतृत्वले टिकट बाँड्दा गुटका आधारमा बाँडेर टिकट बाँड्दा कांग्रेसलाई ठूलो क्षति भएको विषय उठाएका थिए ।

उनले भने– ‘सभापति र पार्टी नेतृत्वले गत निर्वाचनमा उम्मेदवारको टिकट बाँड्दा गुटका आधारमा गरेर ठूलो गल्ती गर्नुभयो, यसले व्यक्तिलाई मात्रै होइन पार्टीलाई पनि ठूलो क्षति भएको छ, यसले कांग्रेस बलियो भएको छैन, अब त्यसो गर्दैनौँ भनेर भन्नुपर्दछ ।’ नेता भण्डारीले पार्टी नेतृत्वले गरेका कमजोरीका विषयमा प्रश्न उठाउँदा सम्मेलनमा सहभागी इतर समूहका धेरैले ताली बजाएका थिए ।

त्यसको केही समयपछि बोल्दै पार्टी सभापति देउवाले आफ्नो छोटो मन्तव्यको सबै विषय यसको जवाफमै केन्द्रित गरे । उनले आफ्नो मन्तव्यको सुरुमै नेता भण्डारीलाई जवाफ दिँदै अब बोलेर मात्रै नहुने काम गरेर देखाउनुपर्ने जवाफ दिए ।

देउवाले भने–‘ यहाँ नेता चन्द्रजीले चर्को बोल्नुभयो, चन्द्रजी सधैँ बोलेर मात्र हुन्न, पहिले बिरामी हुनुहुन्थ्यो अब ठिक हुनुभयो अब भाषण गरेर हुन्न काम गर्न परो, जति बोल्न सजिलो हुन्छ काम गर्न गाह्रो हुन्छ ।’

निकै छोटो समय मात्रै सम्बोधन गरेका नेता देउवाले आफू कम बोल्ने तर काम गर्ने व्यक्ति भएको जवाफ दिए । कांग्रेसको प्रदेश सम्मेलन पार्टी पार्टी बलियो बनाउने अभियान भएको सभापति देउवाले बताए ।

‘कांग्रेसमा सम्मेलनहरूले पार्टीलाई बलियो बनाउनुछ, आन्तरिक लोकतन्त्र बलियो बनाउँछ, पार्टीलाई एक बनाउन मेरो आग्रह छ, पार्टी बलियो भएमात्र सबै बलियो बन्ने हो ।’

सभापति देउवाले बुद्ध जन्मेको ठाउँबाट पार्टीलाई थप बलियो बनाएर जानुपर्ने बताए । ‘हामी बुद्ध जन्मेको ठाउँमा छौँ, यही भूमिबाट कांग्रेसलाई बलियो बनाउने संकल्प गरौँ, सम्मेलनको पूर्ण सफलताको कामना गर्दछु ।’ सभापति देउवा सम्बोधन लगत्तै काठमाडौँ लागेका छन् ।

नेपाली काँग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवलमा सुरु भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दुई दिन सम्म चल्ने प्रदेश सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे ।

सम्मेलनमा सभापति देउवा,वरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य लगायतका नेताहरू र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन सहित ६ वटै प्रदेशका सभापतिहरूले सम्बोधन गरे ।

सम्मेलनमा प्रदेशका ७ सय ५० प्रतिनिधिहरूको सहभागिता रहेको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए । प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि,प्रदेश क्षेत्रीय सभापति,क्षेत्रीय सभापति,जिल्ला सभापति,भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष,प्रदेश पदाधिकारी,सदस्य सल्लाहकार र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको सम्मेलनमा सहभागिता रहेको छ ।

कांग्रेस लुम्बिनी कोषाध्यक्ष प्रकाश रानाका अनुसार उद्घाटन सत्रमा नेताहरूले सम्बोधन गरेपछि बन्दसत्रमा राजनीतिक प्रतिवेदन,सांगठनीक प्रतिवेदन,आर्थिक प्रतिवेदन पेश हुनेछ । ती प्रतिवेदन माथि गम्भीर छलफल गरी पार्टीको आगामी कार्य दिशा तय गर्न सुझाव सहितको निचोड निकालिने छ ।

प्रदेश सम्मेलनमा पार्टीको कामकारबाहीका साथै संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको बारेमा समेत व्यापक छलफल हुने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖