• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रास्वपा सरकारमा जान छटपटाएको हो ? महामन्त्री भन्छन्- मिडिया ट्रायल गरियो


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीबाट पुनर्ताजगी भएर काठमाडौं फर्किएको छ । तर, फर्के लगत्तै पार्टीका जिम्मेवार नेताहरू विभिन्न प्रश्नले घेरिएका छन् ।

रास्वपाको बैठक महोत्तरीमा चल्दै गर्दा काठमाडौंमा भने सो पार्टी सरकारमा जान हतारिएको हल्ला एउटा कोणबाट चलाइयो । पार्टी सभापति रवि लामिछाने जुनसुकै मन्त्रालय पाए पनि सरकारमा जान तयार रहेको समाचारहरू पनि आए । यद्यपि, रास्वपाको बैठकले सरकारमा सहभागी हुने विषयमा कुनै पनि निर्णय लिएको छैन । बैठक पार्टीको नीतिगत विषयवस्तु र पदाधिकारीहरूको नियुक्तिमा केन्द्रित रहेको छ ।

रास्वपा महामन्त्री डा. मुकुल ढकाल सरकारमा सहभागी हुने विषयलाई पार्टीले अहिले प्राथमिकतामा नै नराखेको र त्यस्तो कुनै सम्भावना पनि नरहेको बताउँछन् ।

‘हल्ला कसले किन चलायो थाहा भएन, तर यो विषयमा अहिलेसम्म अनौपचारिक छलफलसम्म भएको छैन,’ उनले भने, ‘हामी अहिले कुनै हालतमा सरकारमा जाँदैनौँ ।’

रास्वपाविरुद्ध सत्ताधारी कोणबाट नै मिडिया ट्रायल गर्न खोजिएको आशंका ढकालले व्यक्त गरे । राजनीतिक भेटघाट हुँदा औपचारिकताबस मिलेर जाऊँ भन्ने कुरा आउनु स्वभाविक रहे पनि त्यसैलाई ‘अपव्याख्या’ गरेर सरकारमा जान आतुर भनेर प्रचार गर्नु बदनियत पूर्ण रहेको पनि उनको टिप्पणी छ ।

डा. ढकालको अनुसार रास्वपा केही समय पार्टीकै संगठनात्मक कामहरूमा फोकस्ड हुने भएको छ । ‘मिसन ८४ को’ नारा लिएर हिँडेको रास्वपाले अहिल्यैबाट त्यसका लागि आफ्नो संगठनात्मक सुदृढीकरणमा जोड दिएको हो ।

ढकाल भन्छन्, ‘हामीलाई अर्को चुनावमा ६ हजार ७४३ वटा उम्मेदवार खडा गर्नु छ । ७५३ वटा मेयर खडा गर्नु छ । सांसद २७५ जना खडा गर्नु छ । सम्भावित उम्मेदवारलाई राजनीतिक प्रशिक्षण दिनु छ । ८४ मा दुईवटै तहको सरकारको नेतृत्व गर्ने लक्ष्य हाम्रो हो । भागबन्डाका आधारमा यो सरकारमा सहभागी हुन अब रुचि छैन ।’

त्यसो त रास्वपाले ८४ सालभन्दा अगाडि नै ‘मध्यावधि चुनावमा जानुपर्ने पनि हुन सक्ने’ आँकलनसमेत गरिरहेको छ ।

‘हामीले मिसन ८४ भनिरहेका छौँ । तर, अहिले अरू पार्टीले पनि त्यही नारा लगाउन थाले । हुँदा हुँदा सत्तारुढ पार्टीले पनि मिसन ८४ नै भन्न थालेपछि अहिलेको सरकारलाई निरन्तरता दिइरहनुको के औचित्य रह्यो ? सिधै अर्को चुनावमा गए भइहाल्यो नि,’ ढकालले भने ।

तर, यसको अर्थ आफ्नो पार्टीले मध्यावधि चुनावको पक्षपोषण नगरेको उनको भनाइ छ ।

‘हामी मध्यावधि चुनाव हुनुपर्छ भनिरहेका छैनौं । तर, परिस्थिति त्यसतर्फ धकेलिन पनि सक्ने देखेर आफूलाई तयार पार्न जुटेका हौँ,’ उनले भने ।

केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा लेखेको स्टाटसले रास्वपा तरंगित बन्यो । साहले मिसन ८४ को नारा दिनेहरूमाथि कटाक्ष गर्दै लेखेका थिए, ‘देश बन्छ, तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सकिएर बन्छ । तिमीहरूलाई सक्काएर बन्छ ।’

रास्वपाका समर्थक र कार्यकर्ताले सामाजिक सञ्जालमा बालेनको प्रतिवाद पनि गरे । तर, पार्टीले भने कुनै प्रतिक्रिया दिएको छैन । प्रवक्ता डा. ढकाल बालेको अभिव्यक्ति पार्टीप्रति लक्षित नरहेको आँकलन गर्छन् ।

उनले भने, ‘उहाँले हामीलाई नै लक्षित गरेर लेख्नुभएको हो जस्तो लाग्दैन । हामी सबै नयाँ राजनीतिक शक्तिहरू आपसमा मिलेरै जाने पक्षमा छौँ । उहाँसँग पनि नमिल्नुपर्ने कुनै कारण छैन । उहाँले कुन सेन्सले लेख्नुभएको हो, त्यो उहाँलाई नै थाहा हुने कुरा भयो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖