• Thursday 8th of October 2026

नेपालका दुई खेलाडीले भारतीय महिला लिग खेल्ने


  • धनकुटा खबर
  • .

नेपाली महिला राष्ट्रिय फुटबल टिमका दुई खेलाडीले सिजन २०२३-२४ को भारतीय महिला लिग खेल्ने भएका छन्।

राष्ट्रिय टिमको कप्तान समेत रहेकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा र डिफेन्डर गीता रानाले यो सिजनको भारतीय लिग खेल्न लागेका हुन्।
दुवै खेलाडीले सेथु एफसीबाट लिग खेल्न लागेका हुन्। लिग खेल्न दुवै खेलाडी आज भारततर्फ प्रस्थान गरेका छन्।

गत सिजन पनि एन्जिलाले सेथुबाटै खेलेकी थिइन्। गीता पनि सोही क्लबमा आबद्ध भए पनि चोटका कारण खेल्न पाएकी थिइनन्। यसैले यो सिजन गीताले भारतीय लिगमा डेब्यू गर्नेछिन्।

गत सिजन गीता र एन्जिलासहित सात महिला खेलाडी भारतीय लिगमा आबद्ध भएका थिए।

जसमा सावित्रा भण्डारीले गोकुलम केरलाबाट खेलेर लिग जितेकी थिइन्। यो सिजन उनी इजरायलको क्लबमा आबद्ध भएका कारण भारतीय लिगमा खेल्नेछैनन्।

गत सिजन सरु लिम्बू, रेखा पौडेल, रेनुका नगरकोटी र अनिता बस्नेतले पनि भारतीय लिग खेलेका थिए।

यो सिजनको भारतीय महिला लिगमा सेथुसहित ७ क्लबले भाग लिँदैछन्। ८ डिसेम्बरदेखि सुरु हुने लिग २४ मार्चमा सकिने खेल तालिका छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖