• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

१८ मंसिरमा दुबई गए तीन दिनपछी १४ किलो सुन लिएर फर्किए…


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले गएराति १४ किलो सुनसहित दुईजनालाई पक्राउ गर्‍यो ।

बिहीबार राति फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका गोरखाका चन्द्र घलेले उक्त सुन ल्याएका थिए । विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीका अनुसार घलेले दुबईबाट सुन ल्याउँदै छन् भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।

घलेलाई पक्राउ परेपछि उक्त सुनका मालिक मीनबहादुर घले रहेको बयानका आधारमा मीनबहादुरलाई समेत पक्राउ गरिएको हो ।

उनीहरूमाथि भन्सार कार्यालयले थप अनुसन्धान जारी राखेको विमानस्थल प्रहरीका एसपी पदम विष्टले जानकारी दिए ।

भन्सार कार्यालयले सुनसहित पक्राउ परेका घलेको भिडियो समेत सार्वजनिक गरेको छ । भिडियोमा घलेले सुन कपडामा बेरेर छातीको दायाँबायाँ राखेर ल्याएको देखिन्छ । त्योबाहेक जुत्ताभित्र समेत सुन लुकाएर ल्याएको देखिएको छ । उक्त सुन ल्याएका व्यक्तिमाथि भन्सार कार्यालयको स्क्यान मेसिनमा जाँच गर्दा उक्त सुन देखिएपछि बरामद गरेको देखिन्छ ।

भिडियोमा देखिएका घलेले कसरी त्यति ठूलो परिमाणको सुन शरीरमा लुकाएर ल्याए भन्ने प्रश्न उठेको छ । विमानस्थल प्रहरी स्रोतले समेत १४ किलो सुन त्यसरी ल्याउने प्रयास गर्नुलाई आश्चर्य मानेको छ ।

स्रोतले भन्यो, “विमानस्थलबाट विभिन्न तरिकाले सुन तस्करी भइरहेको छ । यसलाई शून्यमा झार्न हामी लागिरहेका छौँ । तर आज १४ किलो सुन आफैँले बोकेर आउनु भनेको हाम्रो सुरक्षा प्रणालीलाइ सजिलै पार गर्छु भन्ने आँटले नै हो । अथवा अन्य केही कारण छ हामी नै आश्चर्यमा छौँ ।”

प्रहरी स्रोत विमानस्थल भन्सारको सेटिङबिना यो सम्भव नै नभएको दाबी गर्छ । “भन्सारको सेटिङबिना सम्भव देखिँदैन,” प्रहरी स्रोतले भन्यो ।

नेपाल प्रहरीका पूर्वडीआईजी पूर्णचन्द्र जोशी समेत १४ किलो सुन त्यसरी बोकेर आउनु नै शंकास्पद भएको बताउँछन् । “तस्करले विभिन्न माध्यम प्रयोग गरेर सुन तस्करी गर्छन् । तर, हिजोको घटना अलि फरक छ । समयमा कसैको केही इन्ट्रेस्ट हुन पनि सक्छ । पक्राउ परेकाको ट्राभल डकुमेन्टबाट यो खुल्न सक्छ,” उनले भने ।विमानस्थल प्रहरी स्रोतका अनुसार उनी पछिल्लो समय १८ मंसिरमा मात्रै दुबई गएको खुलेको छ ।

उनी तीन दिन मै १४ किलो सुन ल्याएर फर्किंदा पक्राउ परेका हुन् । त्यो बाहेक उनी यसअघि समेत पटक–पटक दुबई काठमाडौं आउने जाने गरेको खुलेको छ । बिहीबार राती चन्द्र घलेलाई नियन्त्रणमा लिने अपरेशनमा खटिएका एक प्रहरी अधिकृतका अनुसार यदि चन्द्रलाई विमानबाट ओर्लने बित्तिकै पक्राउ नगरिएको भए उनले सुन लुकाउने योजना बनाएको पाइएको छ । ती प्रहरी अधिकारीको अनुसार चन्द्रले आगमन कक्षको डस्टबिन (फोहोर फाल्ने ठाउँ)मा सुनको ज्याकेट नै फालेर बाहिर फोहोर उठाउनेसँग लिने योजना रहेको पाइएको हो ।

ती प्रहरी अधिकृतले भने, ‘जब हामीले पक्राउ गरेर सोधपुछ गर्यौँ, सुरुमा उसले दुबईबाटै कसैले पठाएको र रिसिभ गर्न मान्छे लिन आउने कुरा बतायो । तर थप केरकार गरेपछि उक्त सुन मीनबहादुर घलेको भएको बतायो । त्यसपछि हामीले तत्कालै मीन घलेलाई पनि पक्राउ गर्‍यौँ ।’

ती अधिकृतले अगाडि भने, ‘यसरी सुन छिराउन सक्छु भनेर ल्याएको हो त भनेर हामीले केरकार गरेपछि उसले डस्टबिनमा फालेर बाहिर फोहोर उठाउनेले ल्याइदिने योजना रहेको बतायो । यद्यपि आगमन कक्षको फोहोर उठाइदिने व्यक्ति को हो भन्ने कुरा भने उसले पनि बताएन, त्यस विषयमा अनुसन्धान जारी छ ।’

ती प्रहरी अधिकारीका अनुसार मीनबहादुरले यसअघि पनि फोहोर उठाउने व्यक्तिसँग पटक पटक सुन लिएको चन्द्रले बयान दिएका छन् । पहिले पनि त्यसैगरी सुन ल्याएर डस्टबिनमा फालेको र उक्त सुन मीनबहादुरले बाहिरबाट लिने गरेको चन्द्रले प्रारम्भिक बयानमा बताएका छन् ।

चन्द्र र मीनबहादुर दुवैको घर गोरखाको बारपाक रहेको छ । मीनबहादुर घले म्यानपावर व्यवसायी रहेको र पटक पटक दुबई लगायतका खाडी मुलुकमा जाने आउने गरिरहने चन्द्रले बताएका छन् । चन्द्रले हालसम्म कति पटक त्यसरी सुन ल्याएका छन् भन्ने विषयमा भने जानकारी दिएका छैनन् ।

गएको भदौमा चिनिया तस्कर समूहले भने विभिन्न सवारी साधनको ब्रेक सु भित्र लुकाएर ६० किलो सुन तस्करी गरेको खुलेको थियो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १४ किलो सुन तस्करी प्रकरणबारे छानबिन गर्न प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले पत्रकार सम्मेलन गर्दै पौडेलको नेतृत्वमा प्रहरी नायव उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना रहेको बताए ।

आजमात्रै उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले रसुवा नाका हुँदै काठमाडौं भित्रिएको दुई किलो सुन नागढुंगाबाट बरामद गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖