• Thursday 8th of October 2026

धनगढीले टार्‍यो इलामसँगको हार


  • धनकुटा खबर
  • .

२३ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा अग्रता जोगाउन नसक्दा स्पोर्टिङ इलामले धनगढी एफसीसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

पहिलो हाफमा २–० को अग्रता बनाएको इलामले दोस्रो हाफमा दुई गोल खाएको हो । धनगढीले २ गोलले पछि परिसकेको अवस्थामा खेलमा फर्किँदै हार टारेको छ ।

खेलको ४५ औं मिनेटमा इलामका फोडे कमाराले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा थपिएको इन्जुरी समयमा ओमार मासादाफी रहिमले गोल गरेपछि इलाम बलियो अवस्थामा पुगिसकेको थियो ।

तर ६९ औं मिनेटमा इलामका खेलाडी इब्राहिमले धनगढीका फोडे फोफानालाई पेनाल्टी एरियामा फल गरेपछि धनगढीले पेनाल्टी पायो । जसलाई रिचर्ड ओसेईले सहजै गोल गरे ।

त्यसपछि ८३ औं मिनेटमा फोडे फोफानाले मैदानको दायाँ भागबाट दिएको क्रसमा आफिज ओलावालेले हेडर गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।

एनएसएलमा धनगढीको यो लगातार दोस्रो बराबरी हो । पहिलो दुई खेल जितेको धनगढीले त्यसपछिका दुई खेलमा बराबरीको नतिजा ल्याएर ८ अंक जोड्दै पोखरासँग अंक बराबरी गरेको छ । गोल अन्तर समेत बराबरी भएपछि धेरै गोल गरेको आधारमा धनगढी शीर्ष स्थानमा पुगेको छ ।

इलामको भने यो पहिलो बराबरी हो । खेलेका पाँच खेलमध्ये इलामले एउटा खेल जितेको छ भने अरु तीनवटा हारेको छ । ४ अंक जोडेको ऊ लिगको छैटौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖