• Thursday 8th of October 2026

क्लबका अध्यक्षले खेल मैदानमै रेफ्रीलाई मुक्का हानेपछि …


  • धनकुटा खबर
  • .

काठमाडौँ । एक क्लबका अध्यक्षले खेलका क्रममा रेफ्रीलाई मुक्का प्रहार गरेपछि टर्किस फुटबल लिगका सबै खेलहरू स्थगित गरिएको छ । टर्कीको सबै श्रेणीका लिगहरू अनिश्चित समयका लागि स्थगित गरिएको समाचारमा जनाइएको छ ।

सोमबार राति भएको खेलका क्रममा रेफ्री हलिल उमुत मेलरलाई एमकेई अंकारागुकु क्लबका अध्यक्ष फरुक कोकाले मुक्का प्रहार गरेका थिए । टर्की सुपर लिगको उक्त खेलमा अंकारागुकु क्लबले सुरुआती अग्रता लिएको थियो ।

तर, दोस्रो हाफको इन्जुरी समयमा किकुर रिजेस्पोर क्लबले जवाफी गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि आक्रोशित बनेका अंकारागुकु क्लबका मालिक दौडँदै मैदानमा प्रवेश गरेर रेफ्रीमाथि मुक्का प्रहार गरेका थिए ।

‘त्यो निन्दनीय घटनापछि टर्कीको सबै श्रेणीका लिगहरू तत्कालका लागि निलम्बन गरिएको छ,’ टर्किस फुटबल क्लबका अध्यक्ष मेहनत बुयुकेकसीले भनेका छन्, ‘टर्किस फुटबलको इतिहासमा यो निकै लज्जास्पद घटना हो ।’

आफूमाथि अप्रत्याशित रुपमा मुक्का प्रहार भएपछि रेफ्री मेलर मैदानमा ढलेका थिए । त्यसपछि पनि उनीमाथि लगातार प्रहार भएको थियो । अनुहारसहित उनको शरीरको विभिन्न भागमा चोट लागेको समाचारमा जनाइएको छ ।

‘घटनापछि दोषीमाथि कानुनी कारबाही पनि अगाडि बढाइएको छ,’ टर्कीका आन्तरिक मामिलासम्बन्धी मन्त्री अली एर्लिकायाले भनेका छन् । ३७ वर्षीय मेलर टर्कीका अनुभवी रेफ्रीहरुमध्ये एक हुन् । उनले विश्व फुटबल महासंघ (फिफा) द्वारा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगिताहरू पनि खेलाउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖